काठमाण्डौ । नोभेम्बर २०१४ पछि पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० अमेरिकी डलरको उचाईमा पुगिसकेको छ । यो स्तरलाई पनि उछिनेर मूल्य अझै बढ्नसक्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारको बढ्दो मूल्यवृद्धिको प्रभाव नेपालजस्तो देशको आन्तरिक बजारमा समेत देखिइसकेको छ । यहीकारण नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भइसकेको छ । यही क्रममा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नसक्ने भन्दै अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

अमेरिकाले फेरि एकपटक मध्यपूर्वी क्षेत्रको तेल उत्पादक इरानमाथि प्रतिबन्ध लगाउनसक्ने संभावना बढेको आशंका गर्न थालिएको छ । पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो तनावकै कारण कच्चा तेलको मूल्य समेत बढिरहेको बताइन्छ । यदि यो तनाव गएर प्रतिबन्धमा टुंगियो भने तेलको भाउले आकाश छुनसक्छ ।

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगायो भने कच्चा तेलको निर्यातमा समस्या उत्पन्न  हुनेछ र यस्तो अवस्थामा आपूर्ति कम हुने भएकोले तेलको मूल्यमा भने तीव्र बढोत्तरी हुनेछ ।

कच्चा तेलको ठूलो उत्पादक भेनेजुएलामा आर्थिक संकट आएका कारण समेत उत्पादनमा गिरावट आइरहेको देखिन्छ । आर्थिक सर्वेक्षणमा भनिएको छ कि सन् २०१९ मा तेलको मूल्य १२ प्रतिशतले वृद्धि हुनसक्छ ।

कच्चा तेलको मूल्य वृद्धि हुँदा नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य समेत बढ्नेछ । यसले भारतसँगको व्यापार घाटा अझ बढाउनेछ भने देशकै आर्थिक सन्तुलनमा समेत नकारात्मक प्रभाव पार्नेछ । तेलको मूल्य बढेलगत्तै ढुवानी खर्च समेत बढ्नेछ र यसले आम उपभोक्तामा महङ्गीको चर्को मार व्यहोर्नुपर्ने अवस्था समेत नित्याउन सक्ने विश्लेषण हुन थालेको छ ।