काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार एकैदिन २.५ प्रतिशतले गिरावट आएको कच्चा तेलको मूल्य सोमबार समेत फेरि १.४९ प्रतिशतले घटेको छ । 

एजेन्सीहरुका अनुसार कच्चा तेलको मूल्य ७६ डलर प्रतिब्यारेलबाट समेत ओरालो लागी ७५.३० डलरमा सीमित बन्न पुगेको छ । 

कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा आइतबार ७८.७९ डलर प्रति ब्यारेलमा पुगेर बन्द भएको थियो । त्यसपछि यसको मूल्यमा ३.४९ डलरको गिरावट आइसकेको छ । पछिल्लो एकसाताको कुरा गर्ने हो भने कच्चा तेलको मूल्यमा करिब ७.५ प्रतिशतको गिरावट आइसकेको छ ।

पछिल्लो एक वर्षमा कच्चा तेलको मूल्यमा लगातार बढोत्तरी भइरहेको थियो । सन् २०१७ मा मात्रै कच्चा तेलको मूल्यमा ४५ प्रतिशतको बढोत्तरी भएको थियो भने सन् २०१८ मा समेत(शुक्रबार अगाडिसम्म) मूल्यमा २० प्रतिशतको बढोत्तरी रेकर्ड भएको थियो । 

विज्ञहरुकाअनुसार साउदी अरब र रुसले कच्चा तेलको उत्पादनलाई दैनिक १० लाख ब्यारेलको दरले बढाएका छन् । यसअघि उत्पादन नबढाउने सहमति गरेर बसेका तेल उत्पादक देशहरु समेत बजारमा कच्चा तेलको आपूर्ति धेरै घट्ने डरले ओपेक देश र रुसले समेत उत्पादन बढाउने स्पष्ट संकेत दिइसकेका छन् । 

कच्चा तेलको मूल्य कम हुनु नेपालका लागि सुखद कुरा हो । कच्चा तेलको मूल्य घटेलगत्तै नेपालले भारतबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य समेत घटेर आउनेछ, यसले पेट्रोलियम पदार्थकै नाममा बढिरहेको आयात खर्च कम गर्नेछ भने भारतसँगको व्यापार घाटामा थोरै भए पनि राहात दिनेछ ।