काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनाका लागि अन्यौलमा रहेको कट अफ डेट तोक्ने विषयमा छलफल गर्न आज दिउँसो साढे १ बजे लगानीकर्ता संघसंगठनका नेताहरुलाई बोलाएको छ । 
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडका अधिकारीबीच मंगलबार झण्डै ५ घण्टा चलेको छलफलले कट अफ डेट तोक्ने विषयमा आन्तरिक सहमति कायम भएको थियो । स्रोतका अनुसार २०७२ माघ २ गते वा ०७६ असार ३१ गतेको सेयरको अन्तिम मूल्यलाई कटअफ मानेर भारित औसत लागत गणना गर्न सकिने बताइएको छ । 
यही विषयमा सहमति जुटाउन पाँचवाट लगानीकर्ता संघसंगठनका नेताहरुलाई बोर्डले छलफलका लागि बोलाएको हो । छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार लगानीकर्ता संघकीअध्यक्ष राधा पोखरेल, लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरीलाई बोर्डले बोलाएको हो । 
बैठकमा लगानीकर्ता संघसंगठनका नेताहरुसँगै बोर्ड, नेप्से र सिडिएससीका अधिकारी पनि सहभागी हुने छन् । आजको छलफलमा हुने सर्वपक्षीय निर्णय अर्थमन्त्रालय पठाइने र अर्थमन्त्रालय र आन्तरिक राजश्व विभागको रेसपोन्स पर्खिने सहमति भएको बताइएको छ । 
भारित औसत लागत गणना गर्दा निश्चित मितिलाई कट अफ तोकेर अघि बढ्दा हालको समस्या निराकरण हुने, तर यसलाई अन्तिम रुप दिने मुख्य जिम्मेवारी भने अर्थमन्त्रालयकै हुने बताइएको छ । 
भारित औसत लागत विधिमा हाल स्वयम्ले कर घोषणा गर्न ब्रोकर कार्यालय पुगी एउटा फर्ममा सहीछाप गर्नुपर्ने बाध्यता छ । यसले गर्दा प्रविधिमैत्री बनिरहेको नेपालको पूँजी बजार पुनः औंठाछाप हाल्न ब्रोकर कार्यालय धाउनुपर्ने बाध्यताप्रति लगानीकर्ताहरुले तीव्र असहमति र आवाज उठाइरहेका छन् ।