काठमाण्डौ । संयुक्त अरब इमिरेट्सले आफ्ना नागरिकहरुलाई चेतावनी दिंदै भनेको छ कि यदि कसैले कतारप्रति सहानुुभूति मात्र दर्शायो भने उसलाई १५ वर्षको जेल सजाय दिइनेछ । 

संयुक्त अरब इमिरेट्सको महान्यायाधिवक्ताको कार्यालयले भनेको छ कि कतारको समर्थनमा सोसल मिडियामा कुनै पनि प्रकारको सन्देश पोस्ट गर्नु अब सो देशका लागि गम्भीर साइबर क्राइम हो । 

सोमबार साउदी अरब, दुुबई, बहराइन, यमन, लिबिया लगायतले कतारसँगको आफ्नो राजनीति सम्बन्ध बिच्छेदको निर्णय गरेका थिए । 

बीबीसीका अनुसार यो घोषणापछि कतारले आफ्ना नागरिकहरुका लागि खाने र पिउने सामाग्री हवाईमार्गबाट इरान र तुर्किस्तानबाट मगाइरहेको छ । 

मध्यपूर्वका देशहरुबीच उत्पन्न यो ताजा तनावको बिषयमा बोल्दै जर्मनीका विदेशमन्त्रीले मध्यपूर्वका राजनीतिलाई यो अवस्थाले गम्भीर दुर्घटनामा निम्त्याउन सक्ने भन्दै सचेत गराएका छन् । 

कतारको विरोध गरिरहेका सबै ६ मुस्लिम देशहरुले कतारको बिमानलाई आफ्नो हवाई क्षेत्रमा उड्न समेत प्रतिबन्ध लगाइदिएका छन् । 

तथापि, कतार र साउदी अरबबीच यो संकट समाधानका लगातार प्रयास भइरहेको छ । कुवेतका धनाढ्यहरुले यी दुुई देशबीचको समस्या समाधानका लागि मध्यस्थताको भूमिका निर्वाह गरिरहेका छन् । 

कतारसँग सम्बन्ध तोडेका सबै देशहरुले कतारले चरमपन्थी गतिविधिलाई प्रश्रय दिएको र यसको खतरा आफूहरुलाई परेको दाबी गरेका छन् । उता, मंगलबार दिउँसो अमेरिकी राष्टपति डोनाल्ड टम्पले एक ट्वीट गर्दै भनेका थिए–‘मैले भनेरै मुस्लिम देशहरु कतारबाट अलग भएका हुन् ।’ 

स्मरणरहोस्, कतार र अन्य ६ मुस्लिम देशबीचको विवादका कारण तेलको मूल्य, हवाई भाडा तथा खाद्य सामाग्रीको मूल्य समेत प्रभाव परेको छ ।