काठमाण्डौ । करिब ८ लाखको संख्यामा नेपाली कामदार रहेका कतारमा पनि कोरोना भाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

यो कोरोनाबाट संक्रमितबाट मृत्यु हुने कतारकै पहिलो केस हो । 

त्यहाँका जनस्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । 

कतारमा पछिल्लो २४ घण्टामा २८ नयाँ संक्रमित भेटिएका छन् । योसहित कतारमा संक्रमित हुनेहरुको संख्या ५९० माथि पुगेको छ। 

त्यहाँ हालसम्म संक्रमितमध्ये ४५ जना मात्र ठीक भएर घर फर्किएका समेत समाचारमा जनाइएको छ । 

कुल संक्रमितमध्ये केही कतार आएका अन्य देशका नागरिक रहेका समेत त्यहाँको सरकारले जनाएको छ । 

कतारमा काम गरिरहेका ५७ वर्षीय बंगलादेशीको कोरोनाका कारण मृत्यु भएको बताइएको छ । 

कोरोना संक्रमण फेला परेपछि ती व्यक्तिलाई मार्च १६ का दिन अस्पताल भर्ना गरिएको थियो । 

कतार सरकारले विभिन्न देशबाट कतार भित्रिएका सबै नागरिकहरुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । त्यस्ता व्यक्तिहरुको सम्पर्कमा आउनेको समेत कडाईका साथ स्वास्थ्य जाँचलाई जारी राखिएको समाचारमा उल्लेख छ । 

त्यहाँ हालसम्म १६ हजार ५८२ व्यक्तिको स्वास्थ्य जाँच भइसकेको छ।