काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत एमाले र कांग्रेसबीच कडा टक्कर परिरहेको छ । यो समाचार तयार पार्दासम्म १०६ तहमा जित हासिल गरेर एमाले पहिलो बनेको छ भने कांग्रेसले ९५ स्थानमा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ । माओवादी ३२ स्थानमा जित्दा अन्य साना दलले १५ स्थानमा जितेका छन् । 

जितको कडा टक्कर चलिरहँदा दोश्रो चरणको निर्वाचन भएका तीनवटा प्रदेशका कतिपय तहमा अनौठा रेकर्ड कायम भएका छन् । कतै कांग्रेस हाफ भएको छ भने कतै एमाले । कतै कांग्रेस पत्तासाफ भएको छ भने कतै एमाले । कतै माओवादीको नामोनिशान खोज्दा समेत नभेटिने अवस्था सिर्जना भएको छ भने कतै राप्रपाले चमात्कारिक प्रदर्शन गरिरहेको छ । कांग्रेसका कयौं पकड क्षेत्रहरुमा एमालेले जितको झण्डा गाडेको छ भने एमालेको लालकिल्लाको रुपमा चिनिएका कतिपय तहमा कांग्रेसले हरित धक्का दिएको छ । 

हामीले यहाँ मुख्य रुपमा पहिलो स्थानमा रहेको एमाले र कांग्रेसले अपेक्षा गरेर समेत जित्न नसकेका केही ठाउँमा बनेका रोचक रेकर्डहरुलाई प्रस्तुत गरेका छौ ः

सिटौलाको क्षेत्रमा कांग्रेस पत्तासाफ
कांग्रेसका चर्चित नेता कृष्ण सिटौलाले चुनाव जितेको झापाको क्षेत्रनम्बर ३ का स्थानीय तहमा कांग्रेस पत्तासाफ हुने अवस्था देखिएको छ । यो निर्वाचन क्षेत्रमा भद्रपुर नगरपालिका, कचनकलब गाउँपालिका र हल्दिबारी गाउँपालिका पर्छन् । कचनकबल र हल्दिबारीमा अनपेक्षित नतिजा निकाल्दै राप्रपाले जितको ऐतिहासिक झण्डा गाडेको छ भने भद्रपुर नगरपालिकामा कांग्रेस एमाले भन्दा निकै पछाडि छ । भद्रपुरमा एमाले उम्मेद्वार कांग्रेस उम्मेद्वार भन्दा १३ सय बढी मतले अगाडि छन् । यो क्षेत्रमा कांग्रेसले एमालेलाई उछिनेर जित हासिल गर्न निकै कठीन देखिएको छ।

यो क्षेत्रमा दोश्रो संविधानसभा निर्वाचनको क्रममा कृष्ण सिटौलाले राप्रपाको कडा टक्करको सामना गरेका थिए । पहिलो संविधानसभा निर्वाचनमा उनले यही क्षेत्रबाट हार्नुपरेको थियो । 

कांग्रेसी किल्लामा एमाले धावा
दोश्रो संविधानसभा निर्वाचनमा दांगका पाँचवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गर्दै क्लीन स्वीप गरिदिएको थियो । तर, स्थानीय निर्वाचनमा भने कांग्रेसलाई धक्का दिंदै एमालेको बर्चश्व कायम हुने संकेत देखिएको छ । २० वर्षअघिको स्थानीय निर्वाचनमा घोराही र तुल्सीपुर नगरमा जित हासिल गरेको एमालेले यी दुवै नगरपालिका उपमहानगर भएपछि सम्पन्न चुनावमा समेत शानदार जित हासिल गर्ने संकेत देखिएको छ । यी दुवै उपमहानगरपालिकामा एमालेले फराकिलो मत अन्तरले अग्रता लिइरहेको छ । जिल्लाकै मुख्य केन्द्र मानिने दुवै उपमहानगरमा कांग्रेस किल्लालाई भत्काएर एमालेले ऐतिहासिक जित हासिल गर्ने देखिएको छ । जिल्लाका यी दुवै क्षेत्रमा माओवादीको अवस्था निकै नाजुक बन्न पुुगेको छ । 

भोजपुरमा एमाले हाफ
अरुका किल्लामा धावा बोलेर आफ्नो बर्चश्व कायम गरिरहेको एमालेले यो महासंग्रामको क्रममा आफ्नै पकड क्षेत्र भने जोगाउन सकेन । उसको पकड क्षेत्र मानिएका सुनसरीका धरान र इटहरी उपमहानगर जोगाउन उसलाई हम्मे हम्मे परिरहेको बेला भोजपुरमा उसको पत्तासाफ हुने अवस्था नै सिर्जना भएको छ । ९ स्थानीय तह भएको भोजपुरमा भोजपुर र षडानन्द गरी दुवै नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ भने अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा समेत उसकै जित भएको छ । दोश्रो संविधानसभा निर्वाचनमा भोजपुरको दुवै क्षेत्र जितेको एमालेले दुवै नगरपालिकामा कांग्रेसले धावा बोल्दा जोगाउन असमर्थ रह्यो । यो जिल्लामा ४ तहमा एमालेले जित्यो भने १ तहमा जित्दै माओवादीले बिउ जोगायो । यो ठाउँमा एमाले हाफ बन्नुुमा पार्टीले टिकट वितरणको क्रममा देखिएको असन्तुष्टिको सही व्यवस्थापन हुन नसक्नुु र आफ्नै गरेका अन्तरघातहरु मुख्य कारण रहेका त्यहाँका जानकार बताउँछन् ।