काठमाण्डौ। आज बिहीबारदेखि आउँदो आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। “मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई वर्षकै ठूलो वर्षा न्न मिल्दैन”, मानन्धरले भने। 

असार २५ देखि २८ गतेसम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको छ। मौसमविद्का अनुसार  मनसुनको समयमा १०० मिलीमिटरदेखि माथिको वर्षालाई भारी वर्षा भनिन्छ। त्यस्तै अरु समय ५० मिलीमिटरसम्मको वर्षालाई पनि भारी वर्षा भनिन्थ्यो। अहिले मनसुनको समय भएकाले ५० मिलीमिटरसम्मको वर्षालाई नै हल्कादेखि मध्यम भन्ने गरिन्छ।

यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको छ। पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहनुका साथै कतिपय ठाउँमा पहिरोसमेत जान सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले सतर्क रहन सबैमा आग्रह गरेको छ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ। “खासगरी प्रदेश नं १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दालाई विशेष सतर्कता रहन आग्रह गर्दछौँ”, प्राधिकरणले एक सूचना जारी गरी भनेको छ।

प्राधिकरणका अनुसार ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ उपलब्ध हुनेछ।

RSS