-मनोज बाबु 
धरान । वर्षेनी ५ लाख श्रम भित्रिने नेपाली अर्थतन्त्रमा दैनिक १५०० विदेशिनु नेपालका लागि विडम्बना नै हो । काम सानो वा ठूलो हुँदैन भन्ने भावना राखी सच्चा मनले कामप्रति दृढ हुने हो भने आफ्नै गाउँठाउँमा मासिक लाखौं कमाउन सकिन्छ । हामीसँग यसको अनेकन उदाहरण छन्, तिनैमध्येका एक हुन् सत्यम ठाकुर(पिन्टू) ।

स्थायी घर भारत भए पनि सुन्दर नगरी धरानमा जन्म भई पिता छोटे ठाकुर र माता मीना ठाकुरको कोखबाट जन्म लिई १० कक्षा धरानकै निकेतन उ.मा.वि.बाट अध्ययन गरेका सत्यम ठाकुर उर्फ पिन्टुले कपाल काटेरै मासिक १ लाख बढी कमाउने गरेका छन् । 

केही हजारका लागि अरबको ताता मरुभूमिमा काम गर्न जानुभन्दा स्वदेशमै केही सीप सिकेर उद्यमी बन्न सके यही शानको जिन्दगी बाँच्न सकिन्छ भन्ने कुराको उदाहरण समेत हुन् पिन्टू । 

आफ्नै भिनाजुको सैलुनमा कपाल काट्न सुरु गरेका पिन्टुले १ वर्षपछि धरान ११ मंगलबारेमा प्रमोद ठाकुरको सैलुनमा स्टाफ भई काम गरे । ६ महिनापछि आफैले कमाएर जम्मा पारेको ६० हजारमा उक्त सैलुन खरिद गरी मालिक बने, त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । 

कपाल काटेको, दाह्री काटेको र फेसियल गरेको क्रमशः रु.८०, ६० र ७०० लिने उनी ती लगायत डेढदर्जन सेवाहरु आफ्नो सैलुनबाट दिने गरेको बताउँछन् । 

परिवारका कान्छा छोरा उनले प्यारालाइसिसका बिरामी पिताका लागि मासिक २० हजार दबाई खर्च पनि धानेका छन् । उनले आफ्नै सैलुनमा अर्का एक व्यक्तिलाई रोजगारी पनि दिइरहेका छन् । नेपाली नागरिकता लिने प्रयासमा रहेका पिन्टुले त्यसैको अभावमा सहकारीमा पैसा बचत गर्ने गरेको बताउँछन् । 

ऋणदेखि डराउने उनी सहकारीले ५ लाख ऋण दिन खोज्दा लिन मानेनन् । शेयर बजार बुझ्ने गरेका पिन्टुले कारोबार नगरे पनि इच्छा रहेको र निकट भविष्यमा लगानी गर्ने योजना सुनाए । 

बाबालाई दबाईको खर्च गरेर पनि भारतमा १ तल्ले पक्की घर निर्माण गरेका उनले अब नागरिकता पाए नेपालमै पनि घर बनाउने र व्यवसाय अझ राम्रो गर्दै लैजाने सपना रहेको हामीलाई सुनाए । 

बाआमाको पैसा उडाउन नहुने, आफ्नो खुट्टामा उभिनु युवाहरुलाई उनको सुझाव छ । 

हँसिला, मिजासिला र मिलनसार मनले खाएका व्यक्तिहरुलाई चीसोतातोले आतिथ्य दिन समेत उनी पछि पर्दैनन् ।

दुःखै दुःखको जीवन श्रम गरेर सफल भइने र परिवारसँग सँगै मिलेर खुशी बाँड्न पाए जीवन सफल हुने उनको धारणा छ । 

घरको आर्थिक अवस्था कमजोरी भएका कारण चौध वर्षअघि सानै उमेरबाटै काम गर्न बाध्य उनी बुवाको रक्सी अम्मलीले घरमा खानेकुराको जोगाडका लागि पनि दुखको सागरमा होमिन पुगे ।

त्यही दुखको रापले चेतना दिई संघर्षको जंघार तर्दै आज सफल उद्यमी पनि बने । 

राष्ट्रिय अन्तराष्ट्रिय जस्तोसुकै स्टाइल कपाल काट्न माहिर पिन्टू सोसल मिडियामा चाहि फेसबुक र युट्युबको सदुपयोग गर्दै कपाल काट्ने शिक्षा लिने गरेको बताउँछन् ।