काठमाण्डौ । तपाईको थोरै आम्दानीले पनि तपाईलाई पैसाको हिसाबले निकै मजबुत बनाइदिनसक्छ । यसका लागि तपाईले थोरै धैर्य भएर समझदारीपूर्वक योजना बनाउनुपर्ने हुन्छ । संसारको कुनै पनि व्यक्तिले रातारात चमात्कारको शैलीमा पैसा कमाएको हुँदैन, बरु उसले राम्रो योजना बनाउँछ र भविष्यमा त्यही योजनाले उसलाई करोडपति बनाइदिन्छ । तपाईले पनि योजना बनाउन समय खर्चिनुुहोस् । त्यसपछि लामो समयका लागि थोरै थोरै भए पनि लगानी गर्नुहोस्, तपाई निश्चित रुपमा पैसाको हिसाबले मजबुत बन्नुुहुन्छ । तपाईको थोरै आम्दानी भए पनि त्यसपछि बंगला र गाडी खरिद गर्नु तपाईका लागि पनि सामान्य हुनेछ । आउनुहोस् जानीराखौं यस्ते ५ सूत्र :

१. पैसा कमाउन लगानी गर्नुहोस्
विश्वका सबैभन्दा धनी मानिसको सम्पत्ति उनीहरुले गरेका लगानीबाट प्राप्त हुन्छ । यसका लागि उनीहरु कि त आफ्नै कम्पनी खडा गर्छन् वा अरुले खडा गरेका कम्पनीमा लगानी गर्छन् । तपाईले यस्तो क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ, जसले जोखिमरहित क्षेत्र जस्तै, बैंक डिपोजिट वा पब्लिक प्रोभिडेन्ट फण्ड भन्दा बढी रिटर्न दियोस् । पैसा कमाउनका लागि तपाई जोखिम मोल्न तयार हुनुपर्छ र यसका लागि तपाईले आफ्नो पैसा सेयर, म्युुचुुअल फण्ड जस्तो ठाउँमा लगानी गर्नुपर्ने हुन्छ । यस्ता, उपकरणहरुमा लगानी गर्दा कम समयमै तपाईको पैसा कयौं गुणाले बढ्न सक्छ । यस्तो क्षेत्रमा लगानी गर्नु जोखिम पनि हुन्छ, त्यसकारण यस्तो क्षेत्रमा लगानी गरेपछि बजारमा हुने गिरावटबाट आउने झड्का सहन पनि तपाईले आफूलाई सुरुमै तयार गरिराख्नुुपर्छ।

२.ऋण लिएर बढ्ने सम्पत्तिमा लगानी गर्नुहोस्
तपाईले बैंकबाट ऋण पनि लिनुपर्ने हुन्छ । तर त्यो ऋण यस्तो क्षेत्रमा लगानी गर्नुहोस्, जसको मूल्य समयक्रमसँगै बढोस्, नघटोस् । उदाहरणका लागि होम लोनले तपाईलाई प्रोपर्टी खरीदमा सहयोग गर्छ, जग्गा र घरको मूल्य समयसँगै बढ्छ । यस अलावा जग्गा वा घरलाई भाडामा दिएर समेत तपाईले आम्दानी लिन सक्नुुहुन्छ । तर, यदि घरमा ठूलो टेलिभिजन खरीदका लागि लोन लिनुुहुन्छ भने यो बानी तपाईको आर्थिक स्वास्थ्यका लागि खराब सूचक हो । किनभने तपाईले यस्तो वस्तुमा बढी ब्याज तिरिरहनुुभएको हुन्छ, जसको मूल्य समयक्रमसँगै घट्नेछ । 

३.जीवन र स्वास्थ्य बिमा गर्नुहोस्
तपाईले प्रशस्त पैसा कमाउनुहुुन्छ भने पनि यदि जीवन र स्वास्थ्य बिमाको कभर लिनुुभएन भने जीवनमा जुनसुकै बेला समस्या आइदिनसक्छ, तपाई र तपाईका प्रियजनको जिन्दगी आर्थिक हिसाबले डामाडोलपूर्ण हुनसक्छ । तपाई स्वयम्लाई वा परिवारको कुनै सदस्यलाई गम्भीर बिराम लाग्यो, परिवारको कमाउने मानिसको मृत्युु भयो भने यस्ता बिमा योजनाले परिवारलाई आर्थिक कभर प्रदान गर्नेछ । यस्ता, योजनामा लगानी गरिएको रकमले रिटर्न त दिंदैन, तर यस्ता योजनाबाट परिवारमा कुनै अनिश्चितता सिर्जना भए त्यस्तो अवस्थामा तपाई र तपाईको परिवारलाई आर्थिक कवच प्रदान गर्नेछ । 

४.बनाउनुहोस् आपतकालीन फण्ड
कन्फ्यूसियसले भनेका छन् कि सफलता तपाईको पहिलाको तयारीमा निर्भर हुन्छ । यस्तो तयारीबिना सफल हुन सकिँदैन । पैसा कमाउने मामलामा पनि यो सिद्धान्त सही छ । यस्तो अवस्थामा आउनसक्ने आपतका लागि बेलैदेखि तयारी गरिराख्नुुपर्छ, किनभने दशा बाजा बजाएर आउँदैन, त्यो जुनसुकै बेला आइदिनसक्छ । जीवन बिमा वा स्वास्थ्य बिमा जस्ता योजनाबाट आर्थिक समस्या त केही कम होला, तर जब तपाईको जागिर नै जान्छ, यस्तो बेलामा यस्ता योजनाबाट कुनै सहयोग हुँदैन । यसैका लागि तपाईले एक आपतकालीन कोष(फण्ड) बनाउनुपर्ने हुन्छ । आपतकालीन कोषमा जम्मा भएको तपाईको बचतले यस्तो अप्ठ्यारो अवस्थामा तपाईलाई बचाइराख्नेछ । त्यसकारण तपाईले आफ्नो ६ देखि १२ महिनासम्मको नियमित खर्च टार्न पुुग्ने खालको आपतकालीन कोष बनाएर राखिरहनुुपर्छ । 

५.समयमै ऋण तिर्नुहोस्
यदि तपाईले ऋण लिनुुभएको छ भने यसलाई समयमै तिर्नु तपाईको बित्तीय, नैतिक र कानूनी जिम्मेवारी हो । ऋण समयमै तिरेर तपाई हुनसक्ने अतिरिक्त जरीवानाबाट मात्र बच्नुुहुन्न, बरु तपाईको क्रेडिट स्कोर समेत सुध्रन्छ । यसले भविष्यमा तपाईले ऋण लिनुु पर्दा धेरै झञ्झट व्यहोर्नुपर्दैन । तर, सावधान रहनुुहोला, अहिले भइरहेको ऋण तिर्नैका लागि भनेर फेरि अतिरिक्त ऋण लिने बाटो चाहि नरोज्नुुहोस्, यो आत्मघाती हुन्छ ।