काठमाण्डौ । कमजोर वित्तीय अवस्थाका जलविद्युत कम्पनीका आइपीओ सर्वसाधारणले धमाधम बहिस्कार गर्न थालेका छन् । 

युनिभर्सल पावरको आइपीओ आयोजना प्रभावितले निकै थोरै कित्ता मात्र खरीद गरी बाँकी रहेको कित्ता समेत जोडी सर्वसाधारणका लागि जारी गरिएको आइपीओ समेत पहिलो चरणमा नबिकिरहेको अवस्थामा पाँचथर पावरको आइपीओलाई समेत स्थानीयले बहिस्कार गरेका हुन् ।

कम्पनीले पाँचथरको भारपा, याङ्गनाम, नांगिन ९हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालि०का बासिन्दाहरुका लागि आइपीओ निश्कासन गरेको थियो ।

पाँचथर पावर कम्पनी लिमीटेडले माघ २९ गतेसम्म आवेदन दिनसक्ने गरी आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ निश्कासन गरेको थियो । 

सोमध्ये १ लाख ८० हजार कित्ता मात्र बिक्री भएको हो । आइपीओ खरीदका लागि ५५० स्थानीयले मात्र आवेदन दिएका छन् । 

यसको अर्थ पाँचथर पावरले स्थानीयका लागि निश्कासन गरेको आइपीओमध्ये ८१ प्रतिशत बिक्री नभएको सानिमा क्यापिटलले जनाएको छ। 

स्थानीयले खरीद नगरेकोसहित अब यो कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४५ हजार कित्ता आइपीओ निश्कासन गर्नेछ ।

केयर रेटिङ्ग्स नेपालले यो कम्पनीको आइपीओलाई ‘केयर एनपी आइपीओ ग्रेड फोर’को रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।

यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ। 

हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।