काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक एकैदिन २४.७ अंकले घट्दै १५९०.४९ अंकमा झरेको हो । अघिल्लो साता १६ सय माथि उक्लिसकेको बजार फेरि घटेर १५ सयको स्तरमा आइपुुगेको हो । 

आइतबार बजारमा दोहोरो अंकको पहिरो गए पनि कारोबार रकम भने ७१ करोड भन्दा पनि माथि छ । कारोबार रकमतर्फ खासै गिरावट नआए पनि नेप्से परिसूचकमा चाहि पहिरो जानुको अर्थ बजारमा सेयर बिक्री गर्ने चाप बढेको भन्ने हो । बजारमा बिक्रीको चाप बढेकै कारण नेप्से परिसूचकमा पनि पहिरो गएको हो । 

जेठ महिना बित्न लाग्दा बजारमा ‘क’ वर्गका कम्पनी र विशेष गरी वाणिज्य बैंकको सेयर बिक्री बढेको देखिएको छ । वाणिज्य बैंकहरुको सेयर बिक्रीको यही चापका कारण आइतबार कारोबार भएका वाणिज्य बैंकमध्ये जनता बैंकको सेयर मूल्य मात्र सामान्य बढेको छ, बाँकी सबै वाणिज्य बैंकहरुले गुमाएका छन् । 

जनता बैंकको सेयर मूल्य ०.३४ प्रतिशतले बढे पनि अरु सबैको घटेको छ । सबैभन्दा बढी एनएमबी बैंकको संस्थापक सेयरधनीले गुमाए । यो कम्पनीको संस्थापक सेयरको मूल्यमा एकैदिन ८.५६ प्रतिशतको गिरावट आयो । सनराइज बैंकका लगानीकर्ताले ३.२६ प्रतिशतले सम्पत्ति गुमाए भने एभरेष्ट बैंकले २.८१ प्रतिशतले सम्पत्ति गुमायो । सिद्धार्थ बैंकको मूल्यमा २.६७, एनआइसी एशियाको २.६६, नवील बैंकको २.६४, सिटिजन्स बैंक इन्टरनेशनलको २.५१, एनबी बैंकको २.३२, ग्लोबल आइएमई बैंकको २.२९, सानिमा बैंकको २.२० माछापुच्छे बैंकको २.१६, बंैक अफ काठमाण्डूूको २.११ र नेपाल एसबीआई बैंकको सेयर मूल्य २.०२ प्रतिशतले घटेको छ। 

हिमालयन बैंकले १.९३, प्रभूू बैंकले १.६९, लक्ष्मी बैंकले १.६३, नेपाल बैंकले १.६०, एनएमबी बैंकले १.५६, कुमारी बैंकले १.४७, सेञ्चुरी बैंकले १.३३, कृषि विकास बैंकले १.११ प्रतिशतले सम्पत्ति गुमाएका छन् । सिभिल बैंकले ०.८०, इन्भेष्टमेन्ट बैंकले ०.५३, स्ट्याण्डर्ड चार्टर्डले ०.४७ प्रतिशतले सम्पत्ति गुमाउनुुपरेको छ । 

विश्लेषकहरुका अनुसार आर्थिक वर्ष अन्तिम महिनाको सन्निकट रहँदा वाणिज्य बैंकहरुको वार्षिक प्रगति विवरणको पर्खाई, बैंकको ब्याज तिर्नुपर्ने अवस्था, खासै संग्लिन नसकेको राजनीतिका कारण बजार घट्नसक्ने अनुमान लगायतका कारणले क्रेताको मनोबल गिरेको देखिएको छ । यहीकारण, असार पछि मात्र सेयर किन्ने निश्कर्षमा रहेकाहरु आफूसँग भएको सेयर धमाधम बिक्री गर्ने दौडधूपमा छन् । यही कारण पनि ठूला कम्पनीहरुको सेयर मूल्य घटेको हो । 

कस्तो रह्यो आइतबारको बजार
आइतबार नेप्से परिसूचक २४.७ अंकले घट्यो भने सेन्सेटिभ इण्डेक्स ५.७ र फ्लोट इण्डेक्स १.९३ प्रतिशतले घटेको छ । 

होटल र उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा रातो पोतिभएको छ । होटल समूह ३०.६८ र उत्पादनमूलक १९.०६ अंकले बढेको छ । वाणिज्य बैंक, बिमा र विकास बैंक समूह क्रमशः २५.४३, १३८.३३ र २०.१ अंकले घटेका छन् । यस्तै, बित्त, जलविद्युत र अन्य समूहमा क्रमशः ७.५२, ४५.९३ र १३.०२ अंकले गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ४६ कम्पनीका कुल ११ लाख २३ हजार ५ सय ३२ कित्ता सेयर ७१ करोड १२ लाख ७२ हजार ७ सय ३९ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्डले ७ करोड ५३ लाख बढीको कारोबार गर्यो । यस्तै, एनएमबी बैंकको ४ करोड ८१ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४६ लाख, एनएमबी बैंकले २ करोड ११ लाख, एभरेष्ट बैंकले २ करोड १ लाख बढीको कारोबार गरे । यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले १ करोड ८२ लाख, शिखर इन्स्योरेन्सले १ करोड ७० लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक र बाँकी ५ स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
अघिल्लो साता झै कमाउने सिलसिलालाई आरएसडिसी लघुवित्त संस्था र वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्सले नै आइतबार पनि सबैभन्दा धेरै कमाए । यी दुुई कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यस्तै, एनएमबी बैंकको संस्थापक सेयरधनीले सबैभन्दा धेरै ८.५६ प्रतिशतको दरले गुुमाए । नेरुडे लघुवित्त विकास बैंक र अरुण काबेली पावर लिमीटेडको सेयर मूल्यमा समेत ४ प्रतिशत भन्दा बढीको गिरावट आयो ।