काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुमार्फत् म्युचुअल फण्डहरु धमाधम आइरहेका छन् । दोस्रो बजारको विकास र बिस्तारका लागि एउटा भरपर्दो र ठूलो पूँजी भएका यस्ता म्युचुअल फण्डहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

सर्वसाधारण वा संस्थागत बचत र लगानी रकमलाई आफ्नो जिम्मामा लिई सोको दक्ष लगानीद्वारा प्राप्त भएका प्रतिफल सम्बन्धित युनिटधारीलाई नै समानुपातिक रुपमा वितरण गर्न सामूहिक लगानी योजना ट्रष्टका रुपमा स्थापना हुन्छ । सेयर बजारबारे जानकारी नभएकाहरुलाई उपयुक्त लगानीको माध्यमका रुपमा रहेको र यसले न्यून लागतमा व्यवसायिक तवरबाट लगानी गर्ने अवसर प्रदान गर्दछ ।

प्राइभेट सेक्टरबाट नेपालमा पहिलोपटक संचालनमा आएको म्युचुअल फण्ड भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड हो ।  सिद्धार्थ क्यापिटलबाट यो फण्ड सञ्चालनमा आई ट्रेन्ड बसिसकेपछि धमाधम अन्यले पनि म्युचुअल फण्ड सञ्चालन गरेका छन् । तर, यस्ता फण्डहरुले पछिल्लो समय गरेका लगानीको विषय बेला बेला विवादमा आउने गरेको छ । धितोपत्र बोर्डले तोकेको मापदण्ड मिचेर लगानी भइरहेको विषयमा समेत टिप्पणीहरु हुने गरेका छन् । 

निजी क्षेत्रको पहिलो म्युचुअल फण्ड संचालन गर्ने सिद्धार्थ क्यापिटलका सीइओ ध्रुव तिमिल्सिनाले म्युचुअल फण्डबाट संकलित रकमहरुलाई बोर्डले तोकेको मापदण्डअनुसार नै लगानी भइरहेको दाबी गर्छन् । 

उनकाअनुसार भर्खरै संकलन गरेको रकम नयाँ सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम–२ मा करिब ५० प्रतिशत सेयरमा नै लगानी गरेको दाबी गरेका छन् । बजार वियरिस ट्रेन्डमा रहेको र करिब ३ महिनायता बजार साइडवेजमा हिँडेकाले बटमलाइन लगभग यही नै पो हो कि भन्ने उनको अनुमान छ । 

बलिया कम्पनी र उच्च लाभांश दिइरहेका सूचीकृत कम्पनीहरुको सेयरमूल्यमा भने गिरावट नआएको तर नेप्से बढ्ने भन्ने संकेत पाउने बित्तिकै अवसर छोप्नुपर्ने उनको बुझाइ छ ।

सूचीकृत कम्पनीहरुका सेयरमूल्य एकदमै न्यून मूल्यमा आइरहेको र बजार विश्लेषक र अन्य लगानीकर्ताहरुले पनि किन्ने अवसर भइरहेकाले विस्तारै सेयर खरिदको माहौल बनिरहेकाले माग सिर्जना भई बजारले गति लिने सीइओ तिमिल्सिनाको ठम्याइँ छ ।

सीइओ तिमिल्सिनाले म्युचुअल फण्डमा आकर्षण जगाउन सरकारले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने जोड दिए । बिदेशी मुलुकमा सञ्चालित म्युचुअल फण्डमा कमिसन छुट र लाभकर लगाउन नपाउने व्यवस्था भएजस्तै नेपालमा पनि म्युचुअल फण्डहरुको अधिक तरलता हुने र जनविश्वास बढ्ने उनको भनाइ छ । म्युचुअल फण्डमा वार्षिक निश्चित रकमसम्म लगानी गर्दा करसमेत समायोजन गर्न पाउने बिदेशमा चलन रहेको जानकारी दिँदै सेयर बजारमा ठूला संस्थागत लगानीकर्ताका रुपमा म्युचुअल फण्ड बढ्ने र बजार गतिशील हुन प्रमुख भूमिका खेल्ने सीइओ तिमिल्सिनाको दाबी छ ।

एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेले हालको बजार करिब १०० अंककै सेरोफेरोमा उत्तारचढाव आइरहेको उल्लेख गर्दै विगतमा नेप्से इण्डेक्स २९० वरिपरि हुँदासमेत करिब ४० अंकले नै उत्तारचढाव आएको बताए । अहिले इन्डेक्स ४ गुणा बढ्दा उत्तारचढावको अंक पनि ४ गुणा बढेको सीइओ घिमिरेको जिकिर छ । 

म्युचुअल फण्डहरुले मुद्धतीमा पैसा राख्यो भन्ने व्यापक विरोध भएको छ नि भन्ने प्रश्नमा ‘म्युचुअल फण्डहरु कन्जरभेटिभ नै हुनुपर्ने’ भन्ने विचार राखे । घिमिरेका अनुसार कन्जरभेटिभ भइएन भने संकलित फण्ड जोगाउन सकिन मुश्किल हुने सुनाउँछन् । वियरिस बजारमा नाफा कमाउनुभन्दा पनि पूँजी गिरावट रोक्नु म्युचुअल फण्डको पहिलो धर्म भएको घिमिरेले जिकिर गरे । करिब दुई महिनअघि निष्कासित एनएमबी फिप्टी ओभरसब्सक्राइब्ड भएपछि एनएमबीप्रतिको लगानीकर्ताको विश्वास अटूट रहेको र सो नयाँ फण्डको करिब ८–१० प्रतिशत मात्र लगानी सुरुवात गरिएको उनको भनाइ छ ।

पछिल्ला समयमा म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताहरुको आकर्षण अत्यन्तै न्यून छ । नेपाल धितोपत्र बोर्डका अनुसार म्युचुअल फण्डहरु १३ वटा छन् । ती म्युचुअल फण्डका न्याभ र बजारमूल्य अंकित मूल्यभन्दा पनि तल रहेको छ भने म्युचुअल फण्डका युनिटहरुमा पछिल्ला समयमा उच्च तरलता समेत देखिन छाडेका छन् ।

सामूहिक लगानी कोष नियमावली,२०६७ अनुसार म्युचुअल फण्डको संरचनामा कोष प्रवद्र्धक, कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहेका हुन्छन् । म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने योजनाहरु  खुल्लामुखी र बन्दमुखी योजना दुई प्रकारका हुन्छन् । खुल्लामुखी योजना  धितोपत्र बजारमा सूचीकृत नहुने  भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । नेपालमा पहिलो खुल्लामुखी योजना एनआइडीसीको थियो भने हाल नेपाल इन्भेष्टमण्ट बैंकद्वारा प्रवद्र्धित योजना रहेको छ भने बाँकी सबै खुल्लामुखी योजनाहरु रहेका छन् ।

खुल्लामुखी योजना नेप्सेमा सूचीकृत हुने भएकाले दोस्रो बजारमा कारोबार हुन्छ ।