काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको साउन १ गते(हिजो)देखि परीक्षण थालिएको छ । अधिकांश ब्रोकरहरुले आफूसँग निकट लगानीकर्ताहरुलाई धमाधम यूजर नेम र पासवर्ड वितरण गरिरहेका छन् । लगानीकर्ताले समेत परीक्षणमा उपलब्ध एक्सेस लिई अनलाइन प्रणालीमा हात बसाउने कामको सुरुवात गरेका छन् । तर, साउन १ देखि थालिएको अनलाइनको परीक्षण सकिएर पूर्ण रुपमा नयाँ प्रणाली कार्यान्वयनमा आउन कम्तीमा २ महिना लाग्ने भएको छ । 

यो हिसाबले हेर्दा समेत छिटोमा पनि अनलाइनमार्फत सेयरको कारोबार गर्ने अवसर लगानीकर्ताले असोजदेखि मात्र पाउनेछन् । 

भेण्डर कम्पनी वाइको प्रालिले पूर्ण स्वचालित अनलाइन प्रणाली बनाएर नेप्सेलाई हस्तान्तरण गरेसँगै यसको परीक्षण सुरु भएको हो । परीक्षणकालमा नयाँ प्रणालीमा लगानीकर्ताले सिक्ने काम मात्र गर्नेछन् । यो अवधिमा पुरानो कम्प्युटराइज्ड कारोबार प्रणाली समेत समानान्तर ढंगले अगाडि बढाइएको छ । पूर्ण कारोबार पुरानै प्रणालीबाट हुनेछ । 

नयाँ प्रणालीको यूजर एसेप्टेन्स टेस्ट(यूएटी) हुनुपर्दछ । दुई कम्पनीले यसको जिम्मा पाइसकेका छन् । यूएटी भइसकेपछि मात्र नयाँ प्रणाली कारोबारका लागि सुरक्षित र योग्य प्रमाणित हुनेछ । ती कम्पनीले यूएटी गरी नयाँ प्रणाली सुरक्षित र गुणस्तरीय छ भन्ने कुराको सर्टिफाइड गरेपछि मात्र नेप्सले नयाँ प्रणालीको पूर्ण कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । 

यूएटीपछि नेप्सले नियामक निकायमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको औपचारिक सुरुवातको अनुमति माग्नेछ । नियामकले आवश्यक अध्ययन गरी अनुमति दिएपछि मात्र बल्ल यो प्रणालीको पूर्ण कार्यान्वयन सुरु हुनेछ । 

‘यी सबै प्रक्रिया पूरा गर्नलाई कम्तीमा पनि २ महिना समय लाग्छ ।’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बिजशालासँग भने–‘अहिलेको चरण भनेको नयाँ सिस्टममा लगानीकर्ताले काम गर्न सिक्ने हो ।’ 

साउन १ गतेदेखि पूर्ण परीक्षण भएको प्रणालीको बिषयमा बुझ्न विभिन्न ब्रोकर अफिस गएका लगानीकर्ताहरुले समेत पूर्ण कार्यान्वयनका लागि कम्तीमा २ महिना समय लाग्ने बुझेपछि निराश बनेका थिए । यूजर नेम र पासवर्ड आफूहरुलाई थमाएर अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन २ महिना ढिलो हुने देखिएपछि कतिपय लगानीकर्ता अक्रोशित समेत देखिएका थिए । 

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन हुन कम्तीमा २ महिना लाग्ने बुझेकै कारण लगानीकर्ता साउन १ गते उत्साहित देखिएनन् । त्यसैको परिणाम आर्थिक वर्षको पहिलो दिनको बजार घट्न पुग्यो ।