काठमाण्डौ । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताको खबरले सेयर बजारका लगानीकर्ता थोरै भए पनि आशावादी देखिएका छन् । सत्तासीन २ कम्युनिष्ट पार्टी एक भएपछि स्थायी आर्थिक नीति आउने र त्यसको सहायताले देशले आर्थिक समृद्धिको फड्को मार्ने आशा लगानीकर्ताहरुमा केही बढेको देखिएको छ । यहीकारण केवाइसीको आतंकले व्याप्त बजारमा नेप्से परिसूचक १.६४ अंकले बढेको छ भने कारोबार रकम पनि अघिल्ला २ दिनको तुलनामा बढेको छ । 

यसअघि कम्युनिष्टको सरकार बनेपछि बजार चौपट हुन्छ भन्दै केही समूहले संगठित रुपमा हल्ला फैलाएका थिए । त्यसले बजारमा सामान्य प्रभाव पारेको देखिए पनि पछिल्लो समय २ पार्टीको एकीकरणसँगै सरकार अझै मजबुत बन्ने र उसले आर्थिक समृद्धिको प्रष्ट नीति ल्याउने बिषयमा लगानीकर्ता आशावादी देखिएका छन् । सुनियोजित रुपमा कम्युनिष्टको सरकारविरुद्ध फैलाइएका हल्लाप्रति लगानीकर्ता पछिल्लो समय सचेत बन्दै गएका समेत देखिएको छ । 

तर, आशाको सञ्चार भए पनि एकताकै कारणले मात्र भविष्यमा बजार बुम हुने कुनै संभावना छैन । अहिले केही आशावादी देखिएका लगानीकर्तारुका हित हुने गरी सरकारले बजार नीति ल्याउन सके, भ्याट तथा अन्य करहरुको त्रास हटाउन सके, बजारमा हुने चलखेलहरुको अन्त गर्न सके र बजार बिस्तार तथा लगानीकर्ताको सचेतना अभिवृद्धिमा नियामकलाई सरकारले सक्रिय बनाउन सके मात्रै अहिले लगानीकर्तामा देखिएको आशा उत्साहमा परिणत हुनेछ । बजार र लगानीमैत्री नीति नआएसम्म बजारमा ठूलै बुम हुन्छ भन्नु कोरा कल्पना मात्र हुनेछ । 

यो दिन बजारका समूहहरुको मिश्रित प्रदर्शन देखिएको छ । बैकिङ समूह २.२ अंकले बढेको छ भने होटल समूहमा २.९ अंक, विकास बैंक समूह २.७१ अंक, जलविद्युत समूह ४.७९ अंक र बिमा समूह २८.७२ अंकले बढेको छ । यस्तै, व्यापार समूह ४.९८ अंकले घटेको छ भने बित्त समूह ०.२९, उत्पादनमूलक समूह १५.९६ अंक, माइक्रोफाइनान्स समूह ४.०२ र अन्य समूह २.४७ अंकले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप केही बढेको देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१६ अंकको बढोत्तरी भएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ५ लाख ७९ हजार ४१ कित्ता सेयर २८ करोड ५४ लाख ५५ हजार १ सय ४१ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी वोमी माइक्रोफाइनान्सले २ करोड १३ लाख बढीको कारोबार गरेको छ । नेपाल बैंकले ९७ लाख, प्रभू इन्स्योरेन्सले ९० लाख, मिर्मिरे माइक्रोफाइनान्सले ८४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८१ लाख बढीको कारोबार गरेका छन् । ग्लोबल आइएमई बैंकले ७२ लाख, एभरेष्ट बैंकले ६६ लाख, एनसीसी बैंकले ६६ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६४ लाख र एनएमबी बैंकले ६३ लाख भन्दा बढीको कारोबार गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कन्काई विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले वृद्धि भयो । समता माइक्रोफाइनान्सका लगानीकर्ताले समेत ५ प्रतिशतको  हाराहारीमा कमाए ।

यो दिन मिसन डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । रिदी हाइड्रोपावरको मूल्य साढे ४ प्रतिशतको हाराहारीमा घट्यो ।