काठमाण्डौ । विघटित माओवादी केन्द्र तथा पुनगर्ठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ता सिद्धान्तबाट स्खलित हुँदै अवसरवादी बन्दै गएकोमा दुःख व्यक्त गरे । 

विगतका दिनमा कम्युनिष्टहरुमा उपभोक्तावादी चिन्तन हाबी हुँदै गएको उल्लेख गर्दै भने–‘इतिहासमा धेरै कम्युनिष्ट पार्टीहरुले ठूला त्याग गरे, बलिदान गरे । संसारलाई हल्लाउने गरी क्रान्तिहरु भए । तर, सत्तामा पुगेपछि तिनै पार्टी यति भ्रष्ट, आदर्शहीन र स्खलित तथा जनताले समातेर तिनलाई पिटीपिटी मार्नुपर्ने नेतामा परिणत भए ।’ 

उनले अब भने त्यस्तो हुन नदिने दाबी गरे । विचार, दर्शन र सिद्धान्तलाई बहस तथा परिमार्जन गर्दै त्यसका लागि समर्पित हुने नयाँ ढंगको कम्युनिष्ट पार्टी बन्ने समेत बताए । जनतासँग भिज्ने, एक्काइसौ शताब्दीको चुनौति र संभावनालाई बुझ्नसक्ने तथा क्षेत्रीय चुनौति र संभावनालाई बुझ्ने पार्टी बन्ने उद्घोष गरे । 

सत्ताको नजिक हुँदै गएपछि हामीमा थाहै नपाई स्खलन आउने संकेत देखिएको छ, त्यसका विरुद्धमा लड्न यो एकता सफल हुनुपर्ने र नयाँ संकल्प गर्न नेताहरुलाई आग्रह गरे । 

‘युद्धमा मर्न जान पाउँ भन्नेमा प्रतिस्पर्धा हुन्थ्यो, तर  म सांसद, मन्त्री र प्रधानमन्त्री हुन पाउँ भन्ने प्रतिस्पर्धा हुन थालेको छ । यो राम्रो संकेत होइन ।’ उनले भने ।

उनले हाइड्रोजन र अक्सिजन मिलेर पानीजस्तै एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी जन्मिएको उल्लेख गर्दै भने–‘अब हाइड्रोजन र अक्सिजन छुट्याउन पाइदैन, अब न माओवादी छ, न एमाले छ, अब अर्कै कुरा बनिसक्यो ।’ 

प्रचण्डले एकता अर्थपूर्ण र बहुआयामिक रहेको बताए । उनले मदन भण्डारीसँग त्यतिबेलै पनि एकताको प्रयास गर्नुपर्छ भनिएको उल्लेख गर्दै थपे ः तर दुर्भाग्यवश उहाँ रहनुभएन । उहाँ र उहाँजस्ता शहीदहरुकै देनले आजको यो एकता संभव भएको हो । 

विगतमा पार्टी एकता हुन्छ भनेर कसैले नपत्याएका उल्लेख गर्दै केही उतारचढाव सो क्रममा भएको र यो स्वभाविक रहेको बताए । केही घुम्ती र मोडहरु आए एकताको क्रममा, त्यो अस्वभाविक थिएन । उनले भने-तर सबै मोडहरुमा हामीले दृढताका साथ भनेका थियौ, पछाडि फर्किने पुल भत्काएर आएका छौ, अब अगाडि बढिन्छ भनिएको थियो । 

जनताको अगाडि गरेको प्रतिबद्धता आफूहरुले पूरा गरेको भन्दै उनले देशबासी र कम्युनिष्ट कार्यकर्तालाई बधाई समेत दिए । 

तर, पार्टी एकता गर्नु पछाडिको मुख्य चाहना जनतालाई सुखी बनाउनु र सामाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई समाजवादतर्फ लिएर जाने उल्लेख गरे । उनले आफूहरु जनताअगाडि गरेको प्रतिबद्धताबाट विचलित नहुने र अस्थिरताको युग समाप्त भएको र समृद्धि, विकास र सुशासनको नयाँ युग सुरु भएको उद्घोष गरे । 

प्रचण्डले आफूहरुले महान छलाङ हानेको उल्लेख गर्दै एमाले र माओवादीमा साना ८० वटा भन्दा बढी साना दल समेत समाहित भइसकेका उल्लेख गर्दै निकै ठूलो तागत बनेको र यसले जनतालाई चाहिएको सुख, समृद्धि दिने दाबी गरे । राष्ट्रलाई चाहिएको स्वाधीनता समेत दिने उनको भनाई थियो । ‘यसको मूल्यांकन इतिहासमा धेरै परसम्म हुँदै जानेछ ।’ उनले भने–‘अब भर्खरै जन्मदै गरेर अगाडि बढेकालाई पनि यो आजको दिन सयौ वर्षसम्म नबर्सिने दिन भएको छ ।’