काठमाण्डौ । देशका एकदर्जन ठाउँमा बम विस्फोटका घटना र त्यसमा दूरसंचार प्रदायक कम्पनी एनसेललाई लक्षित गरिएको बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले एउटा आश्चर्यलाग्दो र झट्ट सुन्दा अपत्यारिलो पाटोमा समेत गोप्य अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरीको एक उच्च स्रोतले दिएको जानकारी अनुसार एनसेललाई लक्षित गरी एकाएक चौतर्फी गरिएको आक्रमणको बिषयमा थालिएको अनुसन्धानमा विभिन्न कोणसँगै स्वयम् एनसेलमाथि समेत अनुसन्धान सुरु भएको हो । 

सर्वोच्च अदालतले माघ २४ गते एनसेललाई पूँजीगत लाभकर तिर्न परमादेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले एनसेल र आक्जिएटालाई कर तिर्न परमादेश दिएको थियो । 

यो आदेशसँगै एनसेलले कर नतिरेसम्म कुनै पनि लाभांश देशबाहिर लैजान पाउँदैन। अदालतको आदेश अनुसार एनसेलले अब ब्याज र जरिबानासहित सरकारलाई करिब ४२ अर्ब रुपैयाँ तिर्नुपर्ने भए पनि अर्थ मन्त्रालयको पछिल्लो विवरणअनुसार भने पुँजीगत लाभकरबापत ६१ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिन्छ।

एनसेलको व्यापारमाथि हाल आजियटाकै नियन्त्रण भएकाले एनसेल र आजियटा दुवैले लाभकर तिर्नुपर्छ भन्ने आदेश जारी भएको थियो । एनसेलको १२ औं पटकको बिक्रेता टेलियासोनेरा नेपालबाट भागेपछि उसलाई नै लाभकरको दायित्व पन्छाइँदै आइएको थियो । बिक्रीबापतको लाभकर उसैले बुझाउने र त्यसको दायित्व आफूमा नभएको जिकिर एनसेल खरिदकर्ता आजियटा र एनसेलको थियो । सर्वोच्चले आजियटा र एनसेलकै दायित्व भएको निर्णय सुनाएपछि एनसेल र उसको माउ कम्पनी तनावमा छन् ।

टेलियासोनेरा खारेज भइसकेको कम्पनी हो, अब उसले कर तिर्न सक्दैन । उसले नतिरेकाले तिर्ने दायित्व अब नयाँ कम्पनी (आजियटा) को हुन्छ भन्ने सर्वोच्चको आदेशले प्रष्ट भनिसकेको छ । 

यो आदेशसँगै एनसेलको माउ कम्पनी आजियाटा कर तिर्ने दवाबमा छ । सरकारी तथ्यांकलाई नै हेर्दा समेत कर र जरीवाना समेत गरी कम्पनीले ६१ अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

यति ठूलो रकम करको रुपमा तिर्नुपर्दा एनसेलको व्यवसाय बिस्तारको अभियान समेत नराम्ररी प्रभावित हुन्छ । 

सर्वोच्चको आदेश पालना गर्न अटेर गरिरहेको एनसेललाई कर तिर्नुपर्ने, नभए नेपाली ग्राहकहरुबाटै बहिस्कारमा परिने निकै ठूलो पिरलो छ। चौतर्फी रुपमा एनसेललाई कर तिराउनुपर्ने भन्दै दवाब सिर्जना भइरहेको र एनसेलविरुद्धको आवाज बुलन्द भइरहेको बेला आफू प्रतिकूलको यो स्थितिलाई डाइभर्ट गरिदिन एनसेलकै योजनामा बम विस्फोटको घटना गराइएको कोणतर्फ पनि प्रहरीको अनुसन्धान केन्द्रीत भएको उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

‘धेरै कोणमध्ये यो कोणमा समेत हामीले अनुसन्धान थालेका छौ ।’ प्रहरीका ती उच्च अधिकारीले भने–‘सबै संभावनाहरुलाई मिहीन ढंगले अध्ययन गर्न थालिएको छ, यथार्थ बाहिर ल्याउन धेरै समय लाग्दैन ।’

घटनामा विप्लव वा अरु कोही ?
उच्च प्रहरी स्रोतका अनुसार ललितपुरको नक्खुस्थित एनसेल कार्यालयलाई लक्षित गरी गराइएको बम विस्फोटमा एक सर्वसाधारणको ज्यान गइसकेको छ । थप केही घाइते भएका छन् । 

अन्य क्षेत्रमा भएका बम विस्फोटका घटनामा एनसेलका टावरलाई लक्षित गरिएको छ । जसमा लाखौं रुपैयाँको क्षति भएको छ । यी सबै घटनामा संलग्नताको आशंकामा प्रहरीले विप्लव माओवादीका कार्यकर्तासहित शंकास्पद १६ जनालाई पक्राउ गरिएको जनाएको छ । तर, पक्राउ परेका विप्लवका कुनै नेता वा कार्यकर्ताले हालसम्म पनि ती घटनामा आफ्नो संलग्नता स्वीकारेका छैनन् । 

अरु बेला यस्ता घटना हुँदा खुलमखुल्ला जिम्मा लिने विप्लव वा सो पार्टीका उच्च अधिकारी समेत किन अहिले चूपचाप छन् भन्ने विषयमा समेत प्रहरीको चासो छ । पक्राउ परेका विप्लवका कार्यकर्ताले घटनामा आफ्नो संलग्नता स्वीकार नगर्नु र विप्लव माओवादी पार्टीले समेत आधिकारिक धारणा बाहिर नल्याउनुले घटनालाई रहस्यमय बनाएको छ । 

नक्खुमा भएको बम विस्फोटका घटनामा गरुड सेक्युरिटी सर्भिसबाट एनसेलको कार्यालय सुरक्षाका लागि खटिएका सुरक्षागार्डमाथि प्रहरीले शंका गरेको छ । घटनाको बिषयमा झूठो विवरण दिई शंकास्पद गतिविधि गरेको भन्दै एनसेल कार्यालयको सुरक्षार्थ खटिएका २ गार्डलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

‘यो घटना निकै ठूलै योजनाका साथ घटाइएको हुनसक्ने देखिन्छ ।’ प्रहरीले भन्छ–‘एनसेलबाटै सहयोग लिएर वा उसैको डिजाइनमा घटनामा विप्लव माओवादी प्रयोग भएको समेत हुनसक्छ ।’ 

प्रहरीको अनुसन्धानमा पछिल्लो समय एनसेलबाट विप्लव माओवादीले नियमित रुपमा निकै मोटो चन्दा लिएको देखिन्छ । नियमित रुपमा दुहुनो गाई बनिरहेको कम्पनीलाई नै लक्षित गरी किन ठाउँ–ठाउँमा आक्रमण गरियो ? प्रहरीले यो प्रश्नको उत्तर समेत मिल्ने गरी अनुसन्धान थालेको स्रोत दाबी गर्छ । 

लगानी सम्मेलनअघि गलत सन्देश
सरकारले चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ । त्यसको एक मात्र उद्देश्य हो विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्नु र उनीहरुको लगानीको सुरक्षाको विषयमा ढुक्क बनाउनु । लगानी सम्मेलनको केही साताअघि विदेशी लगानीको एनसेलमाथि आक्रमणको घटना गराइएको हो । 

यो घटनाबाट नेपालमा वैदेशिक लगानीको सुरक्षा छैन वा लगानीको सुरक्षामा राज्य गम्भीर छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने दुर्नियत समेत देखिने सुरक्षा अधिकारीहरुको विश्लेषण छ । ‘यो घटनामा राजनीतिक स्वार्थ समूह र सरकारविरोधीहरुको समेत हात हुनसक्छ ।’ स्रोत भन्छ ।

वैदेशिक लगानीको वातावरण धूमिल बनाएर आफूले तिर्नुपर्ने करमा एनसेलले नै समेत यस्ता घटना गराई सरकारसँग बार्गेन गर्नसक्ने तथ्यलाई समेत बिर्सन नहुने कतिपय सुरक्षा अधिकारीको राय छ । 

सरकारलाई गलाएर वा गलत सन्देश प्रवाह गरी नेपालले आर्थिक समृद्धिका लागि लिन लागेको गतिलाई सुस्त बनाउने र आउन लागेका लगानीकर्तालाई त्रसित बनाउने उद्देश्यले समेत यो काम भएको हुनसक्ने समेत कतिपयको धारणा छ ।