काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धेरै कारोबार भएको देखेपछि धेरै कर उठ्ने लोभले राजश्व अधिकारीहरुले पछिल्लो समय सेयर लगानीकर्ताहरुलाई निरुत्साहित बनाउने काम गरेका भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

धितोपत्र बोर्डको रजत जयन्ती वर्ष समापन तथा २६ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । 

केही महिनाअघिसम्म ३० करोडको हाराहारीमा कारोबार भइरहेकोमा केही सहज व्यवस्थाले दैनिक कारोबार रकम २ अर्बसम्म पुगेपछि राजश्वका अधिकारीहरुले समेत यहाँबाट धेरै कर उठाउन सकिन्छ भनी ध्यान केन्द्रीत गरेका दाबी गरे । 

‘ट्याक्स अफिसका मान्छेहरुले यहाँ धेरै कारोबार देखेर करलाई थोपर्ने र लगानीकर्तालाई निरुत्साहित गर्ने काम हुनुहुँदैन ।’ डा. कार्कीले भने–‘लगानीकर्तालाई निरुत्साहित गरेर कुनै पनि काम गर्न सकिँदैन ।’ 

उनले करको दर बढाएर नभई सेयर लगानीकर्तालाई प्रोत्साहन गरेर बजारको विकास गर्नुपर्नेमा समेत जोड दिए । 

हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने आन्तरिक राजश्व कार्यालयको विवादास्पद सर्कुलर स्थगन भई अर्थमन्त्रालयबाट बनेको समितिले अध्ययन गरिरहेको समयमा बजारका नियामक बोर्डका अध्यक्षको यस्तो अभिव्यक्ति आएको छ । सरकारलाई लाभकरको बिषयमा लगानीकर्ताको अहित हुने गरी निर्णय गराउन बोर्डले भूमिका खेलेको गम्भीर आक्षेप लागिरहेको बेला अध्यक्ष कार्कीले यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । 

उनले करको दर बढाएर बजारलाई त्रसित नबनाउन कर अधिकारीहरुलाई आग्रह गर्दै बजारको स्वस्थ विकासका लागि आफूहरुलाई सहजतापूर्वक काम गर्ने वातावरण हुुनुपर्नेमा समेत जोड दिए । 

उनले बजारको विकास तथा बिस्तारका लागि बोर्डले चालु आर्थिक वर्षको धेरै काम गरेको उल्लेख गर्दै आगामी दिनमा यो गतिले निरन्तरता पाउने र बजारको बिस्तार र लगानीकर्ताको आत्मबल बढाउन बोर्ड सधै लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

उनले सेयर बजारलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिंदै कार्यक्रममा अन्य वक्ताले उठाएका अर्को स्टक एक्सचेञ्जको बिषयमा घुमाउरो समर्थन जनाए । उनले बजारलाई ७७ वटै जिल्लासम्म बिस्तार गर्ने काम भइरहेको समेत सो क्रममा बताएका थिए । 

सो कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पूँजीबजारको बिस्तार तथा विकासका लागि बोर्डले गरेका कार्यहरुको फेहरिस्त प्रस्तुत गरेका थिए ।