-प्रकाश बञ्जारा
यूएई । देशको आर्थिक अवस्था मजबुत पार्ने नाममा अरब देशहरुले कर उठाउन थालेपछि सुनका आकांक्षीहरुलाई बढी मार परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा एकातिर सुनको भाऊ बढिरहेको छ भने अर्कोतिर खाडीमा कमाएको पैसाले आफ्ना प्रियजनलाई सुनका गहना लगिदिने नेपालीलाई झनै बोझ थपिदिएको छ ।   

सुनचाँदी र हिरा लगायतका रसायन मिसाएर बनाइने जुनसुकै गहनाको खरीदमा ५ प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने भएपछि यसले नेपालीहरुको गहना सपना प्रभावित बनाइदिएको छ । 

विदेशमा काम गरेर फर्किने नेपालीले काँचो सुन लिएर आउन नपाउने नेपाल सरकारको कानुनका कारण महँगिएको सुनमा चर्किएको कर तिर्न नेपाली बाध्य भएका छन् ।

“काँचो सुन लिएर जान सरकारले दिंदैन, गहना किन्दा भारी कर तिर्नुपर्छ ।’ युएई स्थित नेपाली सुन पसल याक एण्ड यतिमा सुन खरिद गर्न पुगेका झापाका चन्द्रबहादुर लिम्बुले बिजशालासँग गुनासो पोखे । 

युएइको दुबईमा नेपालीलाई मुख्य ग्राहक मानेर नेपालीकै लागि खोलिएको याक एण्ड यति ज्वेलरीले कर प्रणाली लागू भएपछि आफ्नो व्यापारमा कमी आएको बताएको छ । ‘कर सुरु भएपछि पहिलाको जति व्यापार भएको छैन । किन्नैपर्ने ग्राहकहरु आउनुहुन्छ, रहरले किन्न आउनेहरु कर तिर्नुपर्ने कुरा सुनेर फर्किनुहुन्छ ।’ याक एण्ड यतिकि सेल्स स्टाफ उषा जीले भनिन्–‘कर प्रणाली सुरु भइसकेपछि एक तोलाको सुनको गहनामा झण्डै नेपाली ४ हजार रुपैयाँको हाराहारीमा कर तिर्नुपर्ने हुन्छ ।’ 

युएईकै दुवईमा रहेको नेपाली सुन पसल सपना ज्वेलरीले भने आफ्नो व्यापारमा खासै असर नपरेको बताएको छ । नेपालीलाई नै लक्षित गरेर खोलिएको सपना ज्वेलरीले होलसेल मूल्यमा सुन बिक्री गर्दै आएको छ । “हामी रसायन नमिसाएको सुन बिक्री गर्छौ, हामीबाट किन्ने ग्राहकले कर तिर्नु पर्दैन, त्यसो भएको हुनाले पनि व्यापारमा खासै गिरावट आएको छैन ।’ बिजशालासँग सपना ज्वेलरीका संचालकले भने ।

कर लागू भएपछि युएइमा सुनचाँदीको व्यापारमा ५० प्रतिशत कमी आएको यहाँका व्यवसायीहरुको दाबी छ । दैनिक उपभोग्य सामानको मूल्यमा वृद्धि भएसँगै व्यक्तिगत बजेट प्रभावित भएको छ, यसले बिलासिता र मनोरञ्जनमा हुने खर्च कटौति भएको देखिएको छ ।