काठमाण्डौ । सन् १९९३ मा सुरुवात भएको नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार एक विशेष कार्यक्रमकाबीच आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । 

२६ औं वार्षिकोत्सव समारोहकै हिस्साका रुपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रमहरु गर्दै आइरहेको थियो । तिनमा वृहत् रक्तदान कार्यक्रम, खेलकूद (आन्तरीक भलिवल/क्रिकेट) र हाजिरी–जवाफ प्रतियोगिता रहेका थिए ।

वार्षिकोत्सवको औपचारिक समारोहपूर्व नर्भिकका अध्यक्ष, कवि/गितकार वसन्त चौधरीले नर्भिकमा नवस्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को समुद्घाटन गरेका थिए । उक्त केन्द्रको व्यवस्थापनपश्चात् आफ्ना बिरामीहरु लगायत अन्य सर्वसाधारणलाई आवश्यकता पर्ने रगतको भण्डारण आफैसँग हुने, क्रस म्याचलगायतका सेवाहरु छिटोछरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा बिरामीको बहुमूल्य समय बचाउँदै ज्यान बचाउन समेत मद्दत पुग्ने भएको छ । 

नेपाली चिकित्सा फाँटका विविध विधामा अग्रणी हुने श्रेय पाएको नर्भिकले आफूलाई अझै परिस्कृत पार्ने र स्वास्थ्य सेवामा विविधिकरण एवम् विशिष्टिकरण गर्दै दक्षिण–पूर्वी एशियाकै एक उत्कृष्ट, उदाहरणीय एवम् नमूनायोग्य हस्पिटलमा परिणत हुने कार्यको थालनी यसै वर्ष हुने भएको छ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आगामी तीन वर्षभित्र थप अन्दाजी रु. २०० करोडको लगानीमा अत्याधुनिक २५० शैयायुक्त बन्ने बहुआयामिक एवम् बहु बैशिष्ट्य नर्भिकको भौतिक/प्राविधिक पूर्वाधार विकासबारे हस्पिटलका अध्यक्ष बसन्त चौधरीले उजागर गरेका हुन् । 

करिब ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयायुक्त नर्सिङ्ग होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको र १५० शैयायुक्त रहेको बताउँदै आगामी सन् २०२२ भित्रै यसलाई २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिने उनले बताए । 

हस्पिटलका भौतिक र प्राविधिक पूर्वाधारहरु जतिसुकै बढेता पनि नर्भिकले सदैव विरामीको सर्वोपरी हितलाई ध्यान दिने प्रतिबद्धता दोहोर्याउँदै नर्भिक हिजो विरामी सेवामा समर्पित थियो, आज पनि समर्पित छ र भोलि पनि सोहीअनुरुप समर्पित रहने दृढता उनले राखे ।

हस्पिटलको प्रबन्धनिर्देशक मेघा चौधरीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरुमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कज जलानले नयाँ उचाईमा पुग्दै गर्दा नयाँ चुनौति पनि आइपर्ने र त्यस्ता सबै चुनौतिहरुको सामना गर्न नर्भिक सक्षम रहेको बताए । नर्भिक राष्ट्रकै एक उत्कृष्ट स्वास्थ्य सेवाप्रदायक संस्था भएको, यसप्रति सर्वसाधारणको अत्यन्त ठूलो आस्था र भरोसा रहेको भन्दै यसलाई आफूहरुले कायमै राख्ने डा. जलनाले बताए ।

सोही समारोहमाबोल्दै नर्भिकको पाचन प्रणाली उपचार केन्द्र तथा ग्याष्ट्रोइन्टेरोलोजी विभागीय प्रमुख बरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फाँटलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन जति काम गरेको छ, त्यति कुनै पनि नेपाली सरकारी र गैर–सरकारी हस्पिटलहरुले गर्न नसकेका दाबी गरे । 

जसरी मुटुरोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम इन्टरभेनसन प्रविधि भित्र्याई अग्रणी हुने श्रेय पायो, त्यसरी नै पाचन प्रणाली उपचारमा अत्यावश्यक इन्टरभेनसन प्रविधि भित्र्याउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रहँदै इ.आर.सी.सी. इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा राष्ट्रकै पहिलो रहेको र विगत १० बर्षमा पाचन प्रणाली उपचारका क्षेत्रमा निकै ठूलो फड्को मारेको डा. घिमिरेले दाबी गरे । 

सो अवसरमा बोल्दै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा. अचला बैद्यले विगत १४ बर्षमा नर्भिकमा प्रसूति तथा स्त्रीरोग उपचारमा अन्तर्राष्ट्रियस्तर कायम गर्न सकेको भन्दै सब–फर्टिलिटी, फिटल मनिटरिङ्ग, मेनोपाउज जस्ता विषय विशेषज्ञ उपचार सेवा दिंदै हाल प्रिभेन्टिभ अन्कोलोजी र विशेष परामर्श (काउन्सेलिङ्ग) युनिट मार्फत सेवा सुरु गरेको हुँदा देशैभरबाट आउने रेफरल केसहरु सफलतापूर्वक व्यवस्थापन गर्न सकेको बताइन । 

समारोहमा बरिष्ठ छाती तथा श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, बरिष्ठ मुटुरोग विशेषज्ञ (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) तथा मुटुरोग विभागीय प्रमुख प्रा.डा. यादवदेव भट्ट, बरिष्ठ हाड–जोर्नी विशेष तथा हाड–जोर्नी विभागीय प्रमुख डा. प्रविन नेपालले आ–आफ्ना फ्याकल्टीलाई अझै कसरी उच्चस्तरीय पार्ने भन्ने विषयमा आफूहरु दत्तचित्त रहेको बताए ।

उपचारमा नवीनतम् प्रविधि भित्र्याउने क्रममा हाल कायरोप्राक्टिक सेवा नेपालमै पहिलोपटक सुरु भइसकेको र अन्य सेवाहरु सुरुवातकै क्रममा रहेको पनि बताइयो । 

कार्यक्रमका बीचबीचमा हस्पिटलका दीर्घसेवी कर्मचारीहरु र उत्कृष्ट विभागीय कर्मचारीहरु पुरस्कृत र सम्मानित भएका थिए । 

हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको पहिलो सत्रको औपचारिक समारोह लगत्तै दोस्रो चरणको साँस्कृतिक, सांगीतिक एवम् अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित दोस्रो सत्र सुरु भएको थियो । 

दोस्रो सत्रमा कर्मचारीहरुको समूहद्वारा रोचक नृत्य, थारु नृत्य, गीत र फेसन शो समेत प्रस्तुत भएका थिए । 

दोस्रो सत्रको साँस्कृतिक र सांगितीक कार्यक्रमकाबीचमा क्रिकेट र भलिवल प्रतियोगितका प्रथम र द्वितीय हुने समूहका सदस्यहरुलाई प्रबन्धनिर्देशकले र हाजिरी जवाफ प्रतियोगिताका विजयी कर्मचारीहरुलाई कार्यकारी निर्देशकले पुरस्कृत गरेका थिए ।