काठमाण्डौ । टुरिजम बैंकसँगको मर्जरको क्रममा निकै लामो समयसम्म निलम्बनमा  रहेको मेगा बैंक लिमीटेडको सेयर कारोबार आज(सोमबार)देखि खुल्ने भएको छ । 

टुरिजम डेभलपमेन्ट बैंक र मेगा बैंक लिमीटेडपछि मर्जरको सम्झौता भएपछि निलम्बनमा रहेको सेयर कारोबार ४ सय ९ दिनपछि खुल्ने भएको हो । 

मेगा र टुरिजमबीच २०७३ माघ ६ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । सोही मितिदेखि दुवै बैंकको सेयर कारोबार रोकिएको थियो । 

मर्जर सम्झौताअघिको मेगाको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ४५८ रुपैयाँ र टुरिजमको प्रतिकित्ता ४२७ रुपैयाँ रहेको थियो । 

कारोबार रोकिएपछि मर्जरको अवधिमा मेगा बैंकले आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर र ६५ प्रतिशत हकप्रद वितरण गरेको थियो ।

यस्तै, यो अवधिमा टुरिजम डेभलपमेन्ट बैंकले १९.८० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद सेयर वितरण गरिसकेको छ । दुवै बैंकका सेयरधनीले सम्बन्धित संस्थाबाट वितरित बोनस र हकप्रद सेयर प्राप्त गरिसकेका छन् । 

मेगाले टुरिजमलाई प्राप्ति गरेपछि २०७५ बैशाख ३० गतेदेखि एकीकृत बित्तीय कारोबार थालेका थिए । 

मर्जरपछि बनेको मेगा बैंक धेरै चुक्तापूँजी भएको बैंकमध्येमा पर्न सफल भइसकेको छ ।