काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ, तर कारोबार रकम भने पौने दुई अर्ब हाराहारीमा सीमित बन्न पुगेको छ । 

यो साताको दोस्रो र तेस्रो दिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न ध्यान दिँदा बजार करेक्सन आएकोमा आज भने बजार बाउन्स ब्याक भएको हो ।

सेयर कारोबार हुने साताको चौथो दिन बुधबार परिसूचक निकै उत्तारचढावपूर्ण रह्यो । आज नेप्से परिसूचकले १५५० विन्दूको प्रतिरोधलाई पुनः तोडेको कारण आगामी दिनमा बजारले उकालो गति नै समात्ने विश्लेषकहरुको भनाइ छ ।

आजकै दिन नेप्सेमा सम्भवतः सबैभन्दा धेरै कमाउने एउटै समूहले रेकर्ड ब्रेक गरेको छ । सर्वोत्कृष्ट कमाउने १० कम्पनीमा हाइड्रोपावर समूहले कब्जा गरेको छ भने अधिकांश हाइड्रोपावरका सेयरमूल्यमा उछाल आएको देखिएको छ । 

गत साताभरि नै हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा उछाल आउँदा हिजो र अस्ति भने हाइड्रोमा करेक्सन आई पुनः आजबाट हाइड्रोमा चमक सुरु भएको हो । 

निकै न्यून मूल्यमा रहेका हाइड्रोपावरहरुले यसपालि औसतमा राम्रै रिटर्न दिने आशाकासाथ लगानीकर्ताहरु त्यस्ता सेयरमा झुम्मिरहेका छन् । 

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये आज १९४ कम्पनीका ४१ हजार ६२० पटक सेयर कारोबार हुँदा ११९ कम्पनीका सेयरमूल्य उकालो लाग्यो भने ३१ कम्पनीका सेयरमूल्यम गिरावट आयो । यस्तै २० कम्पनीका सेयरमूल्य भने स्थिर नै रहेको छ ।

यो दिन होटल्स समूहमा २३.६४ अंकको गिरावट आयो भने बाँकी सबै समूहको उपसूचकमा हरियाली छायो । 

बैंकिङ समूह १.८७ अंकले बढेको यो दिन व्यापार समूह ५.७२ अंक, विकास बैंक समूहमा २२.८ अंक, जलविद्युत समूहमा ३३.७९ अंक, बित्त समूहमा १२.०२ अंक, निर्जीवन बिमा समूह ७४.७७ अंक, उत्पादन तथा प्रशोधन समूह २३.२ अंक, अन्य समूहमा ७.३६ अंक, माइक्रोफाइनान्स १०.२२ अंक, जीवन बिमा समूहमा ९४.६८ अंक र म्युचुअल फण्ड समूह ०.०३ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सले १० करोड ८५ लाख बढीको कारोबार गरेको छ । 

नेपाल बैंकले ९ करोड ५९ लाख बढीको कारोबार गरेको यो दिन नेपाल पुनर्बिमा कम्पनीले ८ करोड ७३ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५ करोड ६० लाख, रिलायन्स लाइफ इन्स्योरेन्सले ४ करोड ४६ लाख, कुमारी बैंकले ४ करोड ६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ९६ लाख, नेको इन्स्योरेन्सले ३ करोड ६५ लाख, अरुण काबेली पावर लिमीटेडले ३ करोड ५५ लाख र अपर तामाकोशीले ३ करोड १५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड र माउन्टेन हाइड्रो नेपाल लिमीटेडको सेयरमूल्य १० प्रतिशत हाराहारीमा बढेको हो । 

यो दिन सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा हाइड्रोपावर सेक्टरका कम्पनीको एकछत्र दबदबा देखियो । 

यो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले धेरै गुुमाए । कम्पनीको सेयरमूल्य ३.५७ प्रतिशतले घट्यो ।