काठमाण्डौ । करेक्सनको मोडमा दौडिरहेको नेप्से परिसूचकमा सोमबार भने दोहोरो अंकको उछाल देखिएको छ । 

धितोपत्र बोर्डले सम्हालिएर लगानी गर्न लगानीकर्तालाई दोश्रो पटक आग्रह गरेपछि बजारमा केही दिनसम्म निरन्तर करेक्सन भइरहेको थियो । तर लगानीकर्तालाई सचेतनापत्रले खासै असर नगरेपछि नेप्सेमा सोमबार पुनः बुलिस टेण्ड देखिएको हो । 

सोमबार बीमा समूह, विकास बैंक, बैकिंग समूह तथा अन्य समूहको नेप्सेमा समेत वृद्धि भएपछि समग्र बजारमा बुलिस टेण्ड देखिएर १०.९९ अंकले वृद्धि भई नेप्से परिसूचक १३६२.५३ अंकमा पुगेको छ । सोमबार प्राय सबै समूहका सूचक उकालो लागेर दोहोरो अंकले बजार बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार ५२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा सोमबार भने ४६ करोड ४४ लाख रुपैयाँको मात्र कारोबार भयो । 

बीमा समूहको सूचक सबैभन्दा बढी ९२.१७ अंकले बढ्यो । यसैगरी, विकास बैंकको १७.९७, अन्यको ११.७४, बैकिंग समूहको ८.६३ अंकले परिसूचक वृद्धि भयो । फाइनान्स, होटेल र उत्पादन समूहको सूचकमा समेत सामान्य बढोत्तरी भयो । १ सय २७ कम्पनीको शेयर कारोबार भई धेरैले नाफा कमाउँदा जलविद्युत समूहको सूचक भने १९.६१ अंकले ओरालो लागेको छ । 

२ हजार ६ सय ४९ वटा कारोबारबाट ७ लाख कित्ता शेयरको किनबेच हुँदा सोमबार सबैभन्दा बढी सिटिजन्स बैंकको शेयर कारोबार भयो । यो बैंकको मात्रै ६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो । नेपाल बैंक लिमीटेडको २ करोड ४५ लाख, नेपाल बंगलादेश बैंकको २ करोड २५ लाख, नेपाल स्टाण्डर्ड चाटर्ड बैंकको २ करोड रुपैयाँको शेयर किनबेच भयो ।