काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले संकलन गर्ने निक्षेप भन्दा परिचालन गर्ने कर्जाको वृद्धिदर बढ्दै गएको छ ।

नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको १० महिना अवधिका मुलुकको आर्थिक तथा बित्तीय अवस्था सार्वजनिक गर्ने क्रममा कर्जा लगानी बढेको र निक्षेप परिचालन दर चाहि घटेको देखिएको हो । 

राष्ट्रबैंकका अनुसार बैशाखसम्ममा निक्षेप संकलन ८.१ प्रतिशतले बढेको छ भने कर्जा लगानी चाहि १६.६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको बैशाखसम्ममा निक्षेप १ खर्ब ६९ अर्ब ७९ करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब ७६ अर्ब ७० करोड रुपैयाँले बढेको छ । 

बैशाखसम्ममा विभिन्न बैंक तथा बित्तीय संस्थामा २२ खर्ब ७८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने अघिल्लो वर्षको यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा १९ खर्ब ६७ अर्ब २६ लाख निक्षेप थियो ।

चालुु आबको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २ खर्ब ७६ अर्ब ७० करोड रुपैयाँ बढेको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले १९ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेका छन ।

यो अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १०.८, औद्योगिक उत्पादन क्षेत्रमा १२.४, निर्माणम १८.४, थोक तथा खुद्रा व्यापारमा १३.८, सेवा क्षेत्रमा १६.८ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.१ प्रतिशतले वृद्धि भएको छ ।