काठमाण्डौ । तपाई कर्जा लिने योजनामा हुनुहुन्छ ? कुन बैंकबाट कर्जा लिनुहुन्छ ? कर्जाका लागि कस्ता कागजात चाहिन्छ ? कस्ता शर्तहरु हुन्छन् ? कुन कर्जामा कति ब्याज पर्छ ? कुनै बैंकमा गएर कर्जा लिनुअघि तपाईका मनमा यस्ता प्रश्न उठिरहेका छन् भने अब अनलाइन समाधान हुनेछ । बैंकबाट प्रवाह हुने खुद्रा कर्जाको विषयमा अलमलमा पर्नेहरुलाई सही सूचना दिने उद्देश्यले कर्जाबजार डटकम सुरु भएको छ । 

काठमाण्डौको होटल एम्बास्डरमा एक कार्यक्रमका बीच फोनिक्स क्यापिटल प्रालिले तयार गरेको देशकै पहिलो डिजिटल बजार ‘कर्जाबजार डटकम’को स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तिदारले औपचारिक सुरुवात गरेका हुन् । 

‘कर्जाबजार यस्तो डिजिटल मञ्च हो, जहाँ प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त बित्तीय संस्थाहरुबाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर, सवारी साधन, अचल सम्पत्ति कर्जा, क्रेडिट कार्ड आदि)का बारेमा ब्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यसका साथै वेबसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदनका लागि चालिने प्रक्रियाका बारेमा पनि हेर्न सकिनेछ । कर्जा बजारलाई नेपालका प्रमुख बाणिज्य बैंकहरुसंग विस्तृत परामर्श गरी रिलिज गरिएको हो।’

सुरुवाती चरणमा कर्जा बजारसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, लक्ष्मी बैंक र क्षेत्रीय स्तरको सिन्धु विकास बैंकले सम्झौता गरेका छन् । 

कर्जाबजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढी बैंक र बित्तिय संस्थाहरु पनि यसमा संलग्न हुने कम्पनीको दाबी छ । 

कर्जा प्रवाहका बारेमा हुने सूचनाको कमीलाई चिर्नका लागि, कर्जाबजारले कर्जा प्रदायकहरु व्यक्तिगत कर्जादारहरुको योग्यताको आँकलन गर्न सक्षम हुन भनी आफ्नै स्वामित्वमा क्रेडिट स्कोरिङ सूत्रको पनि विकास गरिएको बताइएको छ । 

फोनिक्स क्यापिटल युवा उद्यमीहरुद्वारा प्रवद्र्धित एक आर्थिक प्राविधिक(फिनटेक) कम्पनी हो । यसले यसअघि इबिमा नामको अनलाइन पोर्टल समेत लञ्च गरिसकेको छ ।