सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् ।

सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् ।

सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सिटीइभिटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताउनुभयो । “सिटीइभिटीले राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ, गरीब र न्यून आयस्रोत भएका व्यक्तिका लागि यसका कार्यक्रम उपयोगी छन्”, उहाँले भन्नुभयो, “तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सिटीइभिटीले यसतर्फ ध्यान दिनुपर्छ ।”

सिटीइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । “चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । कर्णाली प्रदेशमा कर्मचारी आकर्षित नभएको र टिकाउन विशेष भत्ताको प्रबन्ध गरिएको छ ।

यसैबीच कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दरबन्दीबमोजिमका कर्मचारी नआएपछि विशेष प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो । भौगोलिक विकटताका कारण कर्णालीका जिल्लाहरुमा कर्मचारी हत्तपत्त जान मान्दैनन् । मुलुक संघीय संरचचनामा गए पनि कर्मचारी अभाव यथावत् छ ।

माघदेखि लागू गरिएको प्रोत्साहन भत्ता कर्णालीका पनि जिल्लाअनुसार तय गरिएको छ । सुर्खेतका कर्मचारीले मासिक समान ४ हजार रुपैयाँ भत्ता पाउनेछन् ।

सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ६ हजार, कालीकोट र जुम्लामा ८ हजार थप गरिएको छ । विकट हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा मासिक १० हजार रुपैयाँ कर्मचारीले प्रोत्साहनबापत पाउनेछन् ।