काठमाण्डौ । धितोपत्र बोर्डले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज संचालनको अनुमति दिने भएको छ । 

बोर्डले आर्थिक वर्ष ०७५/७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा नयाँ स्टक एक्सचेञ्जलाई संचालनको अनुमति दिने बिषयमा पनि प्राथमिकतामा परेको हो । 

‘धितोपत्र बजारमा अन्तराष्टिय स्तरको कारोबार प्रणाली भित्र्याउन, ऋणपत्र बजारलाई प्रभावकारी रुपमा विकास गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवम् गुणात्मक रुपमा अगाडि बढाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने ।’ नीति तथा कार्यक्रमको २३ नम्बर बुँदामा भनिएको छ । 

सेयर बजारमा नयाँ स्टक एक्सचेञ्जको बिषय लामो समयदेखि उठिरहेको भए पनि यसलाई गति पाउन सकिरहेको छैन । एउटा  मात्र स्टक एक्सचेञ्ज हुँदा यो प्रतिस्पर्धी बन्न नसकेको र लगानीकर्ताले भनेजस्तो सुविधा समेत नपाएको भन्दै केहीले नयाँ स्टक  एक्सचेञ्जको सान्दर्भिकतामा जोड दिइरहेको बेला बोर्डले नीति तथा कार्यक्रममै मोडलसहितको नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने कुरा समेट्नुले यो बिषयमा आगामी आर्थिक वर्षमा गति पाउने आशा गर्न सकिन्छ ।  

बोर्डले सोमबार एक पत्रकार सम्मेलनमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।