काठमाण्डौ । चीनले बालबालिकाहरूलाई अनलाइन 'गेमको' लतबाट जोगाउन खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ। त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ।

भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो। मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ। जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन्।

चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो।

रिसर्च कम्पनी न्यूजूका अनुसार यस वर्ष पहिलो पटक अमेरिकाको कमाइ चीनभन्दा बढी हुन गयो। भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ। अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो।

त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो। केही ठूला उत्पादकहरूले सरकारको कदमलाई सकारात्मक ढङ्गले ग्रहण गरे पनि ती प्रावधानलाई लागु गर्न र उमेरको जाँच गर्ने कार्य भने निकै चुनौतीपूर्ण मानिएको छ।

बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई 'गेमिङ डिसअर्डर' को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो।

हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन। तर इन्टरनेट गेमिङ डिसअर्डर थप अध्ययन गर्न सकिने एक किसिमको स्थितिको रूपमा भने सूचीकृत गरिएको छ।

केही देशहरूले अत्यधिक खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गरेका छन् र धेरैले यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय राखेका छन्।