काठमाण्डौ । हकप्रद र बोनस सेयरमा लाग्ने पूँजीगत लाभकर सम्बन्धी अन्यौल हट्ने संकेत आएपछि अन्तिम समयमा सोमबार बजारमा सामान्य सुधार भएको छ । 

यो दिन नेप्से परिसूचक १.९२ अंकले झिनो सुधार भई १२३५.१५ को विन्दुमा पुगेको हो । 

नेप्से परिसूचकमा अन्तिम समयमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । यो दिन साढे १९ करोडको हाराहारीमा मात्र कारोबार भएको हो । 

करको अन्यौल समाप्त हुने संकेतले लगानीकर्तालाई थोरै भए पनि सक्रिय बनाए पनि मौद्रिक नीतिको प्रतिक्षामा धेरै रहेका कारण बजारमा ठूलो बढोत्तरी भने देखिएको छैन । ब्याजदर वृद्धिको लिगलिगे दौडका कारण सेयर धितोकर्जा लिएर लगानी गर्नेहरु निरुत्साहित भएका कारण समेत बजार सेलाइरहेको छ । मौद्रिक नीतिले ब्याजदर वृद्धिको दौडमा बेलगाम झै देखिएका बैंकहरुलाई कस्ने कुनै न कुनै उपाय लिएर आउँछ भन्नेमा धेरै आशावादी छन् । 

साताको दोश्रो कारोबार दिन ४ समूहको सूचकमा रातो पोतिएको छ भने ५ समूहको सूचकमा झिनो बढोत्तरी भएको छ । 

यो दिन बैंकिङ समूह ०.५४ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह १.२७, बित्त समूह ०.२६ र उत्पादनमूलक समूह ८.१८ अंकले घटे । यसैगरी, होटल समूह ४.३८ अंकले बढ्यो भने जलविद्युत समूह ९ अंकले, बिमा समूह २२.५२ अंकले, माइक्रोफाइनान्स समूह ८.७ अंकले तथा अन्य समूह ५.२६ अंकले बढे । 

यो दिन ‘क’ वर्गका कम्पनीमा खरीद चाप केही बढेका कारण सेन्सेटिभ इण्डेक्स ०.४२ अंकले बढ्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१२ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ४ लाख ८४ हजार ६ सय ४५ कित्ता सेयर १९ करोड ५२ लाख ३४ हजार १ सय २६ रुपैयाँमा खरीदबिक्री भयो ।

सबैभन्दा धेरै नेपाल बैंकको सेयर कारोबार भयो । यो कम्पनीको १ करोड ३४ लाख बढीको सेयर किनबेच भएको हो । 

यस्तै, एनएमबी बैंकले १ करोड १८ लाख, साना किसान विकास बैंकले ९५ लाख बढीको सेयर कारोबार गरे । नेपाल लाइफ इन्स्योरेन्सको ७५ लाख बढीको संस्थापक सेयरको कारोबार भएको बजारमा प्रभू बैंकले ७५ लाख, ग्रामीण विकास लघुवित्तले ६९ लाख, उन्नति माइक्रोफाइनान्सले ६८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५७ लाख, राष्ट्रिय बिमा कम्पनी लिमीटेडले ४९ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्स र नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ता मालामाल भए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन रादी जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा पहिरो गयो ।