काठमाण्डौ । अदालतको आदेशपछि पनि कर तिर्न आनाकानी गरिरहेको एनसेलको देशका विभिन्न क्षेत्रमा रहेका टावमार बम विस्फोट र आगलागीका घटना हुन थालेका छन् । 

विभिन्न समूहले एनसेल बहिस्कारको अभियान घोषणा गर्दै उसका टावरमा बिस्फोट र आगजनी गरेका हुन् । 

विप्लव माओवादी र केही भूमिगत संगठनको नाममा एनसेलमाथि आक्रमण सुरु भएको छ । 

सर्वोच्च अदालतले एनसेलले पूँजीगत लाभकर तिर्नुपर्ने फैसला सुनाए पनि उसले अटेर गरिरहेको छ । एनसेलले कर तिर्न अटेरी गरेपछि देशव्यापी रुपमा कम्पनीको सेवा बहिस्कार हुनसक्ने अवस्था सिर्जना भएको छ । 

कतिपय समूहले देशव्यापी रुपमा एनसेल बहिस्कारको अभियान संचालनको पूर्वसन्ध्यामा शुक्रबार साँझ विभिन्न ठाउँका एनसेल टावरमा आक्रमण भएको छ । 

ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । 

नक्खु चोक नजीकको एनसेल टावरमा शुक्रबार साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । 

बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीको भनाई छ । 

उता, बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ । 

बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । 

आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए । 

टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ । आगजनी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।