काठमाण्डौ । सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका भन्दै दूरसंचार प्रदायक एनसेलको देशका विभिन्न क्षेत्रमा रहेका टावरमा बम विस्फोट र आगलागीका घटना भइरहेका छन् । 

यो क्रममा एक सर्वसाधारणको मृत्यु भएको छ भने केही घाइते भएका छन् । एनसेलका केही टावरमा निकै ठूलो क्षति भएको छ । 

विभिन्न समूहले एनसेल बहिस्कारको अभियान घोषणा गर्ने तरखर गरिरहेको बेला विप्लव नेतृत्वको माओवादीले देशव्यापी रुपमा कर नतिर्ने र नेपालको सर्वोच्च अदालतको आदेश नमान्ने कम्पनीविरुद्ध आक्रमणको श्रृंखला सुरु गरेको स्रोतहरुले बताएका छन् । 

सर्वोच्च अदालतले एनसेलले पूँजीगत लाभकर तिर्नुपर्ने फैसला सुनाए पनि उसले अटेर गरिरहेको छ । एनसेलले कर तिर्न अटेरी गरेपछि देशव्यापी रुपमा कम्पनीको सेवा बहिस्कार हुनसक्ने अवस्था सिर्जना भएको छ । 

कतिपय समूहले देशव्यापी रुपमा एनसेल बहिस्कारको अभियान संचालनको पूर्वसन्ध्यामा देशभर विभन्नि ठाउँमा एनसेल टावरमा आक्रमण भएको छ । यो क्रममा मानवीय क्षति समेत भएको छ । 

ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको हो । 

बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा शुक्रबार राति आगजनी भएको छ । 

टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताएका छन् । 

“आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उनले भने, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ ।” 

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजी कार्य भइरहेको जनाएको छ । 

यसैगरी, रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ । शुक्रबार राति नै भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिएका छन् । 

आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उता, बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको थियो । 

बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । 

आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए । 

टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ । आगजनी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।