काठमाण्डौ । आन्तरिक राजश्व विभागले कर तथा अन्तशुल्कको विवरण र सोअनुसारको रकम दाखिला गर्न उर्दी जारी गरेसँगै नेपाल राष्ट्रबैंकले समेत कर बुझ्ने प्रयोजनका लागि जेठ २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको तोकिएका शाखा तथा काउण्टर पूर्ण रुपमा खुल्ला राख्न निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एक सर्कुलर जारी गर्दै जेठ २५ गतेसम्म कर दाखिलाको मिति तोकिएकोले सो मितिसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदामा पनि राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व संकलन गर्ने शाखा तथा काउण्टर र बैंकका क्लियरिङ गर्ने काउण्टरहरु लगायत नेपाल क्लियरिङ हाउस लिमीटेड पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन भनेको छ । 

केन्द्रीय बैंकले मन्त्रीपरिषदको निर्णयअनुसार करदाताहरुले बुझाउनुपर्ने फागुन र चैत महिनाको कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिलाका लागि सहजहोस् भनेर सहजीकरण गरिएको बताएको छ ।