काठमाण्डौ । आन्तरिक राजश्व विभागले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । 

कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणका कारण देशका अधिकांश क्षेत्र ठप्प बनेको र लामो समयको लकडाउनले मानिस घरभित्रै बन्दी बनिरहेको अवस्थामा करदातालाई राहात दिने मन्त्री परिषदको निर्णयको पालना गर्दै आन्तरिक राजश्व विभागले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको हो । 

यो विषयमा मन्त्रीपरिषदले चैत १६ गते नीतिगत निर्णय गरेको थियो भने १८ गते मन्त्रीस्तरीय निर्णय भएको थियो । 

ती दुवै निर्णयपछि आएको निर्देशनलाई कार्यान्वयनमा लैजाँदै कर कार्यालयले करदाताहरुलाई राहात हुने गरी सूचना प्रकाशित गरेको हो । 

जसअनुसार अब मूल्य अभिवृद्धि कर अन्तर्गत फागुन महिनाको मासिक कर विवरण, माघ र फागुनको दिमासिक र मंसिरदेखि फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ बैशाख २५ गते कायम भएको छ । 

यसैगरी, मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि निवेदन दिन पाउने अवधि लकडाउनकै बखत समाप्त भएमा २०७७ बैशाखसम्म कायम गरिएको आन्तरिक राजश्वले प्रष्ट्याएको छ । 

अन्तशुल्क अन्तर्गत २०७६ फागुन महिनाको बुझाउनुपर्ने विवरण र ती विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने म्याद समेत बैशाख २५ गतेसम्म नै कायम गरिएको छ । 

आयकर ऐन बमोजिम २०७६ फागुन महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असूलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद पनि बैशाख २५ गतेसम्म नै कायम गरिएको छ । 

आयकर ऐन अन्तर्गत चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संसोधित अनुमानित कर विवरण र दोश्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद पनि बैशाख मसान्तसम्म नै कायम गरिएको सूचनामा उल्लेख छ । 

यस्तै, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूर संचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत बैशाख २५ गतेसम्म नै कायम गरिएको आन्तरिक राजश्व विभागले प्रष्ट्याएको छ ।