काठमाण्डौ । माग तथा अल्पसूचनामा आधारित निक्षेप(कल डिपोजिट) र संस्थागत मुद्धती निक्षेपको ब्याजदरमा नेपाल राष्ट्रबैंकले कडाई गर्न निर्देशन दिएको छ । 

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन २०७६ मा केही संसोधन गरी यस्तो व्यवस्था गरिएको परिपत्र गरेको हो । 

यसअघि कल निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था थियो । यस्ता खाताहरुमा चेक पनि जारी गर्न पाइन्न । 

राष्ट्रबैंकले यो व्यवस्थामा केही नयाँ प्रावधान थप्दै कल डिपोजिट र संस्थागत मुद्धती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दूसम्म बढाउन सकिने भनेको छ । यसको अर्थ कल डिपोजिट र संस्थागत मुद्धती निक्षेपको प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बढाउने बन्देज लगाइएको हो ।