राष्ट्रिय वाणिज्य बैंकका वर्तमान सीईओ किरणकुमार श्रेष्ठ पेसाले बैंकर हुन्। तर, उनमा कविताप्रेम जीवन्त छ। उनका हरेक पाइला कवितामय छन्।

स्कुल पढ्दाताका सुरु भएको कविता लेखन र पठनको यात्रा आज पनि जारी छ। उनको कवितायात्रा सुरु भयो, संखुवासभा चैनपुरमा पढ्दै गरेको स्कुल, सरस्वती माविबाट।

‘आमा’ शीर्षकको कविताबाट पुरस्कृत पनि भएका किरणले क्याम्पस पढ्ने समयमा पनि कविताहरु लेखे। २०३४ सालतिर सानोठिमी क्याम्पसमा पढ्थे उनी। क्याम्पसमा कविता प्रतियोगिता भयो। उनी सहभागी भए। उनले दोस्रो स्थान हासिल गरेका थिए। त्यसपछिका दिनमा सक्रिय रुपमा उनी कविको परिचयमा प्रकट चाहिँ भएनन्। 

खासमा जागिरे जीवनले लेखन टुटेको थियो। जागिरकै सिलसिलामा उनी एकदिन कलकत्ता पुगे। त्यहाँ उनले समुन्द्र देखेपछि उनीभित्रको ‘कवि’ फेरि बौरिएर आयो। उनले समुद्रको छाल, चाल र सौन्दर्य देखेर त्यहीँ कविता लेखे। यसरी उनीभित्रको कवित्व जागिरह्यो।

चैनपुर नेवारहरुको पुरानो बस्ती भएको बजार हो। पहिल्यैदेखि गाईजात्राका दिन नेवारहरुले दिवंगत व्यक्तिको नाममा रामायण (भजन शैलीमा शोकगीत) निकाल्ने चलन थियो। उक्त व्यक्तिका बारेमा लेखिएका कविता–गीत गाउने चलन थियो। त्यस किसिमको माहौलमा लेख्ने अनि सुन्ने वातावरणमा हुर्केका किरणले २०६० सालमा आफ्नै आमाको निधनपछि गीत आफैँले लेखे। गीत लेख्न आफ्नो आमालाई सबैभन्दा नजिकबाट चिनेको व्यक्ति त उनी आफैँ थिए। पहिले–पहिले चाहिँ नाममात्र फेरेर एउटै गीत चलाउने चलन थियो। २०७२ सालमा बुबाको निधनपछि पनि बुबाको नाममा पनि गीत लेखे उनले।

किरणलाई आफू राम्रो कवि हुँजस्तो नलागेर कविमन प्रकट र प्रकाशन गरेका थिएनन्। ‘नचिन्दा सजिलो, चिन्न थालेपछि धेरै सचेत हुनुपर्छ’, बैंकिङ काममा व्यस्त भएर लेखनमा समय दिन नसके पनि उनलाई लाग्छ, ‘मसँग कविता लेख्ने भावना चाहिँ रहेछ। अलिकति फुर्सद पाए त केही गर्न सकिन्छ किजस्तो लाग्थ्यो।’

अनि लकडाउन भएपछि किरण कम्मर कसेर लागे। चैत महिनाबाटै कविता लेख्न थाले। सुरुमा ‘कोरोना कहर’ कविता लेखे। 

कोरोनाका कारण भएका डरलाग्दा दृश्य देखेर हजुरआमाले सानामा सुनाउनुभएको स्याल, हुचिल र सलहका कथा स्मृतिमा आए। अनि उनले लेखे ‘हजुरआमाका कथा’।

लकडाउन भएका कारण घन्टौँ हिँडेको घर गएको कथा सुनेर किरणको मनलाई छोयो। रामले सीता हरणका बेला गरेको यात्रा, माओले चिनमा गरेका लङ मार्च सबै सम्भव पो रहेछन् भन्ने लागेर केही लेख्न तम्सिए, उनी। ‘आफैँले बनाएको सडकमा आफैंले निर्माण गरेको सवारी चढ्न पाइन्न रहेछ’, अनि ‘माटोको सुवास’ लेखे उनले। आफ्नै माटोमा जाउँ भन्ने भावना मानिसमा देखेर उनले लेखेका हुन्, भन्छन्, ‘माटोप्रतिको माया आँखैले देखियो।’

वर्तमान घट्नाहरुको सिलसिला हेर्दा प्रकृतिमाथिको विजय सम्भव रहेनछ भन्ने कुरा किरणको मनमा बास बस्यो। ‘पृथ्वी मुठ्ठीमा छ, मंगल ग्रहमा पुग्यौँ, विभिन्न आविष्कार गरेका छौँ’ भनेर नहुने रहेछ। एउटा झट्काले सबै सखाप पारेको छ। उनले मान्छे र प्रकृतिको सम्बन्ध प्रतिविम्बित गरेर लेखे। प्रकृतिको दोहनमात्र होइन यससँग प्रीत गाँसौँ भन्ने भावना उनमा छ।

अहिले किरण लेख्दैछन्, अर्को कविता। आँखाका बारेमा हो, उनको कविता। आँखाको भाव, अभिव्यक्ति, भाखा, अबोधपन र दृष्टि समेटेर।

स्कुल पढ्दा शम्भु गुरु सरस्वती मावि चैनपुरमा नेपाली पढाउँथे। त्यतिखेर स्कुलमा मासिक रुपमा कार्यक्रम हुन्थे। सिनियरहरुको कविता सुनेर आनन्द लागेपछि आफूलाई पनि लेख्न मन लागेको किरण सम्झँदै भन्छन्, ‘आज पनि डायरी पल्टाउँदा रमाइलो लाग्छ। त्यो समयमा विभिन्न घटनालाई समेटेर लेखिएका रहेछन्।’

लाज र हीनताबोधले लेखनलाई प्रकाशनमा ल्याउन चाहेका थिएनन्। आफ्नो स्तर कम भयो कि भन्ने लाग्थ्यो उनलाई। अब भने डिजिटल दुनियाँले सहज बनाइदियो। उनी भन्छन्, ‘फेसबुकमा कविता राख्दा आउने कविता कमेन्टले पनि हौसला आउँछ।’

किरणले कविता पढ्ने क्रममा भूपिका कविताबाट धेरै ऊर्जा लिएका छन्। गद्य शैलीमा कविता लेख्ने उनलाई भूपिकै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ नै एकदम मनपर्ने किताब हो।

प्रकृतिसम्बन्धी विषयका कविताले बढी छुन्छन्, किरणलाई। 

मधुपर्क, रचना पत्रिकाहरु नियमित पढ्थे, किरण। संकल्प, झिसमिसे, वेदना पनि उनको सूचीमा थिए। प्रगतिशील साहित्य मनपर्ने उनलाई त्यतिबेला मञ्जुल, विक्रम सुब्बा, सँगै पढेका गीतकार श्याम तमोट, वासु शर्माहरुको साहित्यिक संगतले साहित्यिक बन्न सघाएको थियो। 

कलेज पढ्दाताका रमेश विकल चैनपुर पुग्नुभएको थियो। एसएलसीको सुपरिन्टेन्डेन्ट भएर। ‘उहाँलाई मैले काठमाण्डौमा चिनेको अनि गाउँमा भेट्दा ठूलो कुरो लागेको थियो। अनि म नै थिएँ, गाउँमा उहाँलाई चिन्ने पनि। अनि उहाँले एउटा काव्यिक भेला गरौँ भन्नुभयो। साहित्यको के छ, यहाँ भन्नुभयो। मैले यहाँ राम्रै छ भनेँ।’

‘त्यतिखेर मेरो आफ्नै घरमा कार्यक्रम भएको थियो’, सम्झनामा पुलकित हुँदै किरण भन्छन्, ‘त्यो बेलामा रमेश विकलले रचनाहरु सुन्नुभयो। आफ्नो पनि रचनाकासाथ केही भनाइ राख्नुभयो।’ अहिले पनि सम्झना छ, ‘यहाँ पनि कविता राम्रो लेख्नेरहेछन्। यिनीहरुलाई अर्जाप्न पाए त धारिलो हुनेरहेछन्।’ 

त्यो समय रचना प्रकाशनका लागि निक्कै मुश्किल थियो। ‘चैनपुरको सेरोफेरो’ भन्ने रमेश विकलको लेखमा उक्त सम्झना उल्लेख छ। किरणकुमार श्रेष्ठको नाम पनि त्यो बेलामा गोरखापत्रमा प्रकाशन भयो।

अहिले पनि किरण कविता अवतारमा बौरिरहेका छन्। अहिले पनि देशको राजनीतिक परिस्थितिलाई शिष्ट, राम्रो र लाक्षणिक रुपमा भन्न तम्सिएका छन्।

निरन्तर कविताकर्ममा जुटेका किरणको कलम अहिले झन् तेजिलो भएर जुर्मुराएको पाइन्छ।

कवितामा नारा हुनुहुन्न भन्ने कुरामा किरणको विश्वास छ। विषयवस्तु जे भए पनि कविता पढिसकेपछि त्यसमा एउटा प्रष्टता आउन सकोस्। ठाडै भन्नु चाहिँ कविता होइन। मौलिक र विम्बात्मक रुपमा मनमा लागेको कुरालाई जानाजान नरोकीकन लेख्नुपर्छ भन्ने उनको भनाइ छ। ‘बैंकको मान्छेले यस्तो बोल्यो लाग्न पनि सक्छ’, हास्दै उनी बोल्छन्।

किरणको पहिलो प्रकाशित रचना ‘समुद्रका छालहरु’ हुन्। काष्ठमण्डप पत्रिकामा। 

‘मनोभाव’ राष्ट्रिय वाणिज्य बैंक युनियन आवद्धहरुले निकाल्ने पत्रिका हो। उनी प्रशंसा गर्दै भन्छन्, ‘उक्त काम कठिन छ, बैंकर भएर पनि गर्नु भएको असाधारण काम हो यो। गुणस्तरका लागि पनि लागिपरेको कुरा प्रशंसनीय छ। मैले बोलेको छु।’  

‘बैंकर भएर कविता साहित्यमा रुचि राख्ने व्यक्ति हुँ’ भन्ने किरणको मत छ। किरणको कविता अनुभूति यस्तो छ, ‘कविता लेख्दा अर्कै दुनियाँमा पुगिन्छ। बैंकर हुनुको सत्य भुलिन्छ कवितामा प्रवेश गरेपछि। एउटा असीम आनन्दको प्राप्ति हो, कविता। लेख्नेलाई नै बोध हुन्छ त्यो। आफू सीईओ भएको कुरा बिर्सेर कविताका अक्षरहरुमा हराइन्छ। कहिले चाहिँ कल्पना आउँछ तर लेख्न सक्दिनँ।’

अझ थप्छन् किरण, ‘एक्कैचोटी बगेर कविता लेखिसकेको क्षणमा लाग्छ कि त्यही नै खुसीको परिभाषा होला। कुनै ठूलै पुरस्कार पाएको अनुभूति हुन्छ, कविता लेखिसकेपछि। टार्गेट पूरा गर्दाको खुसी अर्कै हुन्छ। मातृत्वको खुसी त्यस्तै हुन्छ कि जस्तो लाग्छ। सन्तान पाएको जस्तो।’

किरणको दिने कविता भ्यालु एकदम धेरै छ, ‘मनिटरी भ्यालुको निश्चित दायरा छ। सीमा छ। कविताको भ्यालु चाहिँ असीमित छ। यसलाई कुनै पनि समुदायमा सीमित गर्न मिल्दैन। कविताको गहिराइ, कल्पनाशील भावना र त्यसले दिने सन्देश अत्यन्त दूरगामी र सकारात्मक हुन्छ। कलात्मक हुन्छ।’

पहिले अंग्रेजीमा पनि कविता पढेको किरणलाई याद छ। स्कुल पढ्दाको समयमा। उतिबेला कोर्सबाहेकका किताब पढ्ने अवसर थिएन। पत्रिका र किताब घरगाउँ पुग्न महिनौँ लाग्थ्यो, यातायातको सुविधा नभएका कारण। 

स्कुलको पढाइपछि काठमाण्डौ आउन पनि धेरै दिन लगाएर हिँडेर आएको सम्झना छ, किरणसँग। धरान, दरभंगा, रक्सौल हुँदै ६ दिन लगाएर।

मधुपर्कजस्ता पत्रिका स्कुलमा पुग्थे, राजनीतिक भूमिगत सामग्री पढ्न पाएनन्, त्यो बेला। अचेल उनी विविध विषयका किताबहरु पढिरहेका छन्। जीवनी, राजनीति, समाज आदिका विषयका किताबहरु।

आफ्नै किताब प्रकाशन गर्ने योजना बोकेका छन्, किरणले। तर उनको अर्को सिर्जनात्मक सौख पनि छ। मीठा, सुन्दर गीत लेख्ने र रेकर्ड गराउने। ‘मीठा गीत रेकर्ड गराएर बजाउन पाए हुन्थ्यो’ भन्ने सोच्दै गीतलेखन गरिरहेका छन्, उनी।

यस्तो खालको गीतमा काम गर्न पाए पो भन्ने लाग्छ, किरणलाई। दिनेश अधिकारी, कालीप्रसाद रिजालहरुले लेख्नेजस्तो क्वालिटीको गीतमा काम गर्न मन छ, उनलाई।

बैंकर किरणलाई ‘कवि किरण’ भन्न पाउने प्रतीक्षामा छन्, उनी स्वयम्।
–नरेन्द्र नगरकोटी