काठमाण्डौ । नेपालमा पछिल्लो समय सेयरमा लगानी गर्नेहरु बढेका छन् । सेयरमा लगानी गरेर पैसा कमाउन चाहनेहरुको संख्या पनि उत्तिकै बढिरहेको छ । समग्र सेयर बजार र यसको संचालन प्रणाली क्रमशः व्यवस्थित बनिरहेको समयमा लगानीकर्ताहरुको आकर्षण अचाक्ली बढेको देखिन्छ । केही वर्षअघिसम्म सेयरको विषयमा बेवास्ता गर्नेहरु समेत अहिले सेयरको बिषयमा बुझ्न, जान्न र लगानी गर्न खोजिरहेका हुन्छन् । सर्वसाधारणमा पछिल्लो समय हुर्किएको यस्तै चाहनालाई बुझेका सेयर विश्लेषक रविन्द्र भट्टराईले सामान्य पढलेख गर्न जान्नेले समेत बुझ्ने भाषामा सेयर बजारको जटिल प्राविधिक पाटोलाई सरलीकृत गर्दै नयाँ पुस्तक लेखेका छन् । भट्टराईले लेखेको नयाँ पुस्तक ‘सेयरबाट करोडपति’ बुधबार काठमाण्डौमा एक कार्यक्रममाझ विमोचन गरियो । 

नेपालमा सेयर बजार सम्बन्धी पुस्तकहरु प्रकाशनमा क्रियाशील भट्टराईले यसअघिका आफ्ना करिब एकदर्जन पुस्तकभन्दा निकै सरल भाषामा सर्वसाधारणले समेत बुझ्ने गरी किताब लेखेका हुन् । सेयर बजारमा सर्वसाधारणको बढ्दो आकर्षणकै कारण यसपटक किताबको प्रकाशन र वितरणको जिम्मा देशकै ख्यातिप्राप्त प्रकाशक फाइन प्रिन्टले लिएको छ । 

भृकुटीमण्डपको नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रमका बीच लेखक भट्टराई, साहित्यकार अमर न्यौपाने र आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा किताबको विमोचन गरेका थिए ।

‘पुस्तकले सेयरबाट पैसा कमाउने बाटो देखाउँछ’
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार अमर न्यौपानेले रविन्द्र भट्टराईको लेखाईबाट आफू प्रभावित भएको उल्लेख गर्दै बिल्कुल प्राविधिक बिषयको किताबलाई सरल साहित्य जस्तो सरलीकृत गरेको भन्दै प्रंशसा गरे । ‘मलाई पुस्तक पढ्दा उत्कृष्ट साहित्य पढेजस्तै आनन्द आयो ।’ उनले थपे–‘म सेयर बुझ्दिनँ, तर यो किताब पढ्दा धेरै बुझेँ ।’ उनले टिप्पणी गर्ने क्रममा पैसाको महत्व, पैसा केन्द्रीत पछिल्लो पुस्ता तथा समाज लगायतको बिषयमा पनि आफ्नो विचार व्यक्त गरेका थिए । जीवन सन्तुलित बनाउन पनि पैसा आवश्यक रहेको र ‘सेयरबाट करोडपति’ पुस्तकले सेयरमा लगानी गरेर कसरी पैसा कमाउने भन्ने कुरा सिकाएको न्यौपानेको ठहर थियो । ‘पैसाको दास नबन, पैसालाई चाहि आफ्नो दास बनाऊ भन्ने लेखकको सुझावले मेरो मन छोयो ।’ न्यौपानेले भने–‘अहिलेको जमानामा मेहेनतले मात्र पुग्दैन, पैसा कमाउन दिमाग चाहिन्छ, सिस्टम र प्रविधि पनि उत्तिकै आवश्यक हुन्छ, लेखकले यो बिषय राम्ररी बुझाउन सक्नुभएको छ ।’ 

हालसम्मकै सरल भाषा
अर्का टिप्पणीकर्ता आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले भट्टराईले हालसम्म लेखेको शेयर सम्बन्धी किताबमध्ये ‘सेयरबाट करोडपति’ अत्यन्त सरल रहेको बताए । ‘अर्थशास्त्रको जटिल कुरालाई यति सरल भाषामा पनि लेख्न सकिन्छ भन्ने उहाँले प्रमाणित गरिदिनुभएको छ ।’ अवस्थीले थपे–‘निकै चाखलाग्दो र व्यवहारिक किताब तयार भएको छ ।’ उनले पैसालाई नभई नहुने, तर जतिले पनि नपुग्ने अचम्मको चिज भन्दै पैसा कमाउने एउटा माध्यम सेयरमा लगानी पनि रहेको प्रष्ट्याए । ‘तर सेयरमा लगानी गर्दा धेरै चनाखो हुनुपर्छ ।’ उनले भने–‘सम्हालिएर लगानी गर्न जानिएन भने सेयरले रोडपति पनि बनाइदिन सक्छ ।’ 

‘सेयर उपन्यास’ लेख्ने धोको

सेयरबाट करोडपति पुस्तकका लेखक तथा चिनिएका सेयर विश्लेषक रविन्द्र भट्टराईले आफ्नो एउटा सपनाको पुस्तक तयार भएको जानकारी दिंदै भने–‘४ वर्षदेखिको मेहेनतको प्रतिफल हो यो किताब ।’ उनले सेयर बजार लगानीको उत्तम विकल्प भएको भन्दै यस बिषयमा जनतालाई बुझाउन आवश्यक ठानेर किताब लेख्ने गरेको बताए । सेयर बजारमा प्रवेश गर्न चाहने नवप्रवेशीका लागि ‘सेयरबाट करोडपति’ राम्रो पथप्रदर्शक बन्ने उनको विश्वास छ । ‘पैसालाई काम लगाउने हो ।’ उनले भने–‘यो काम सेयरबाट संभव छ ।’ उनले जुन पायो त्यही कम्पनीमा लगानी नगर्न सल्लाह दिंदै भने–‘ममा अझै एउटा सेयरको उपन्यास लेख्ने सपना छ ।’ 

विमोचन भएलगत्तै सेयरबाट करोडपति पुस्तक खरीदका क्रममा हारालुछ हुँदै । 

मञ्चमा सँगै रहेका साहित्यकार अमर न्यौपानेलाई समेत उनले पैसाको महत्व बुझाउँदै सेयरमा लगानी गर्न आग्रह गरे । ‘अमर जीको किताब बिक्री नभएको बेला कसरी चलाउने जीवनलाई ?’ भट्टराईले थपे–‘त्यही भएर तपाईं पनि भविष्य सुनिश्चित गर्न आउनुहोस्, सेयरमा लगानी गर्नुहोस् ।’ उनले आम्दानीको भरपर्दो स्रोत लगानी नगरी बन्न नसक्ने स्पष्ट पार्दै आवश्यक सुरक्षाको विधि अपनाएर सेयरमा लगानी गरे, करोडपति बन्न संभव रहेको प्रष्ट्याए । 

फाइन प्रिन्टको पहिलो गैरआख्यान
फाइन प्रिन्टका अजित बरालले पछिल्लो समय साहित्य विधाका राम्रा पाण्डुलिपी आउन छाडेकाले आफूहरुको संस्था गैरसाहित्यिक पुस्तक प्रकाशनको योजनामा पुगेको र यो योजना कार्यान्वयन रविन्द्र भट्टराईको ‘सेयरबाट करोडपति’बाट आरम्भ भएको बताए । ‘फाइन प्रिन्टको गैरसाहित्यिक पुस्तक प्रकाशन श्रृंखलाको पहिलो पुस्तक हो सेयरबाट करोडपति ।’ उनले थपे–‘हामी आगामी दिनमा जीवन उपयोगी यस्तै अन्य पुस्तकहरु समेत प्रकाशनमा केन्द्रीत हुनेछौ ।’ 

के छ पुस्तकमा ?


लेखकले ‘सेयरबाट करोडपति’ पुस्तकमा १८ वटा बिषयसूचि समेटेका छन् । ‘काम नगरी पैसा’बाट सुरु भएको बिषयसूचि ‘सेयर बजारका रोचक कुरा’ले बिट मारिएको छ । सेयरमा बजारमा कसरी छिर्ने, सेयरमा किन लगानी गर्ने, लगानी गर्ने उत्तम तरिका, सेयरमा जोखिम, सेयर लगानीको बिमा, सक्रिय र निस्क्रिय लगानी, पूँजीगत लाभ र नगद प्रवाह, लगानीको उत्तम समय, सेयरको न्यूनतम विन्दू, सेयरको उच्चतम विन्दू, सेयर बजारको चक्र, सेयरको सिजन, राम्रो पोर्टफोलियो, थोरै काम, धेरै पैसा, धेरैले किन गुमाउँछन लगायतका बिषयसूचिमा रोचक प्रसंग र बिम्बहरुको प्रयोग गरी सेयर बजार र यसका अन्तरकुन्तरलाई उजिल्याउने काम गरिएको छ । सेक्स, महिला र सेयर बजारको रमाइलो तथा सटिक प्रतिविम्ब समेत पुस्तकमा समेटिएको छ । २ सय पृष्ठको पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ ।