काठमाण्डौ । पाकिस्तानमा उत्तरकोरियाका एक राजदूतको निवासबाट ह्वीस्की, बियर तथा वाइनका कैयन बोतल चोरीको घटना बाहिर आएको छ । यो घटनाको खुलासासँगै ती राजदूतमाथि रक्सी तस्करीमा संलग्नताको शंका गर्न थालिएको छ । 

पकिस्तानका मुसलमानहरुका लागि मदिराको सेवन गैरकानूनी हो । यहीकारण यहाँ रक्सी सहज ढंगले प्राप्त हुँदैन । तर, राजदूतहरुलाई रक्सीका लागि व्यक्तिगत भत्ता समेत दिइन्छ । 

अक्टोबर महिनाको सुरुवातमै पाकिस्तानका लागि उत्तरकोरियाका राजदूत ह्योन कि योङले इस्लामावादस्थित आफ्नो निवासबाट चोरी भएको रिपोर्ट दर्ता गराएका थिए । उनले पुलिसलाई भनेका थिए कि उनको निवासबाट दुुई हिरा, कैयौ हजार अमेरिकी डलर तथा निकै ठूलो परिमाणमा मदिरा चोरी भएको छ । समाचार एजेन्सी रोयटर्स तथा पाकिस्तान टुुडेका रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार तीन प्रहरीले यो घटना गराएका देखिएको छ, जसविरुद्ध पक्राउ पूर्जी समेत जारी गरिएको छ । 

तर, अर्को एक मिडिया रिपोर्टका अनुसार यो सारा घटनाको प्रहरीले नै सुरुवात गरेको थियो र यो एकहिसाबले प्रहरीले छानबिनको क्रममा गरेको घटना थियो । 

कोहसर पुलिस चौकीमा यो घटनाको बिषयमा उजुरी दर्ता भएको छ । त्यहाँका प्रहरी प्रमुख इन्स्पेक्टर अस्जद महमुदले बीबीसीसँग भनेका छन्-''तीन प्रहरीमाथि राजदूतको निवासमा गैरकानूनी ढंगले प्रवेश गरेको आरोप छ । ती प्रहरीहरुले ठूलो मात्रामा मदिरा फेला पारेर र लगे, तर उनीहरुले आफ्ना उच्च अधिकारीलाई खबर गर्नको साटो ती सबै मदिरा आफ्नै साथमा राखे । हाल तीनै प्रहरी जमानतमा रिहा भएका छन् ।'' 

आम रुपमा यस्ता चोरीका घटनालाई खासै महत्व दिइन्न । तर, यो घटनामा ठूलो परिमाणमा मदिरा र राजदूत सामेल छन् ।

राजदूतको घरबाट कति बोतल रक्सी चोरी भयो भन्ने बिषयका यकिन तथ्यांक बाहिर ल्याइएको छैन । रोयटर्सका अनुसार जोनी वाकर ब्ल्याक लेभल मदिराको १ हजार भन्दा बढी बोतलहरु चोरी भएका छन् । चोर बजारमा यो मदिराको एक बोतलको मूल्य नेपाली ८ हजार रुपैयाँ रहेको छ । 

प्रहरी रिपोर्ट अनुसार राजदूतको निवासबाट २ सय कार्टुन वाइन, ६० कार्टुुन बियर र अन्य खालका रक्सीको समेत दर्जनौ बोतल चोरी भएको छ । 

पाकिस्तानमा विदेशी राजदूतलाई एक निर्धारित परिमाणमा रक्सी राख्न अनुमति दिइन्छ । उनीहरुले दूताबासमै त्यस्तो मदिरा राख्न पाउँछन् । राजदूतहरुलाई उनीहरुको निवासमा मदिरा राख्ने अनुमति दिइदैन । 

उत्तर कोरियाली राजदूतलाई पाकिस्तान सरकारले तीन महिनाको अवधिमा अलग अलग प्रकारका १२० लिटर स्पीरिट, १८ लिटर वाइन तथा २४० लिटर बियर राख्ने अनुमति दिइएको थियो । यो हिसाबले उनको घरबाट जति मदिरा प्राप्त भएको छ, त्यो निकै कम परिमाण हो । 

उत्तर कोरियाली दूतावासले हाल यो घटनाको बिषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

ह्योनको निवासबाट जति पनि मदिरा प्राप्त भएको छ, ती सबैको मूल्य १ करोड ५० लाख बढी हुने मानिएको छ । 

कुनै पनि उत्तरकोरियाली राजदूतमाथि मदिरा तस्करीको आरोप लागेको यो नै पहिलो घटना भने होइन । सन् २०१५ मा कराचीमा एक उत्तर कोरियाली राजदूतमाथि पनि गैरकानूनी ढंगले ब्ल्याक मार्केटमा मदिरा बिक्री गर्ने गरेको आरोप लागेको थियो । 

यही वर्ष एक अर्का उत्तर कोरियाली राजदूतलाई १४ लाख डलर बराबरको सुन बंगलादेशतर्फ तस्करी गरिरहेको अवस्थामा गिरफ्तार गरिएको थियो । 
बीबीसीको सहयोगमा