काठमाण्डौ । एकाघरमा नियमभन्दा धेरै परिमाणमा सेयर राखेको भन्दै नेपाल राष्ट्रबैंकले प्रस्तावित लाभांश रोकिदिएपछि एभरेष्ट बैंकका संस्थापक बिके श्रेष्ठको परिवारले १ अर्ब ९१ करोड ७६ लाख भन्दा बढीको सेयर बिक्री गरेको छ । 

श्रेष्ठ परिवारले नियमभन्दा बाहिरको सेयर बिक्री गरेकै कारण बजारमा बिहीबार १ अर्ब १३ करोड बढीको कारोबार भएको देखिएको हो । 

बिके श्रेष्ठको एकाघर परिवारभित्रका नेपालकृष्ण श्रेष्ठ र राधा श्रेष्ठले ७२ लाख ३६ हजार ३७५ कित्ता बैंकको संस्थापक सेयर प्रतिकित्ता २६५ रुपैयाँको दरले प्रतिमा श्रेष्ठलाई बिक्री गरेका नेप्सेस्थित स्रोतले जानकारी दिएको छ।

यो बैंकमा राधा श्रेष्ठको नाममा ५२ लाख ७७ हजार, नेपालकृष्ण श्रेष्ठको नाममा ६३ लाख ४५ हजार कित्ता सेयर रहेको थियो । प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार र बैंकको अध्यक्ष समेत रहेका बिके श्रेष्ठको नाममा ७३ लाख ७२ हजार कित्ता सेयर रहेको थियो ।

अब प्रतिमा श्रेष्ठको एभरेष्ट बैंकमा सेयर स्वामित्व बढेर १४.८३ प्रतिशत पुगेको छ । 

नेपाल राष्ट्रबैंकले मंसिर ३ गते नै एभरेष्ट बैंकलाई एक पत्र पठाउँदै बैंकबाट पेश भएको वित्तीय विवरण र १ अर्ब ६० लाख ५३ लाख नगद लाभांश वितरणको प्रस्ताव २ वटा शर्त पूरा गरेपछि मात्र स्वीकृत गरिने भनेको थियो। 

ती दुई शर्त(निर्देशन)मध्ये पहिलोमा बैंकको बाह्य लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्ण रुपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने व्यवस्था गर्ने भनिएको थियो । 

दोश्रोमा चाहि केन्द्रीय बैंकले एकाघरको सेयर स्वामित्व घटाउन भनेको थियो । एक बैंक तथा बित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्तापूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा बित्तीय संस्थाहरुमा चुक्तापूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै यो सीमाभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीहरु रहेमा संस्थापक सेयरधनीहरुलाई सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस सेयर विरतण रोक्का राख्न निर्देशन दिइएको थियो । 

सोही निर्देशनका कारण बैंक अप्ठ्यारोमा परेपछि संस्थापक सेयरको सीमा १५ प्रतिशतमा सीमित गर्न निकै ठूलो परिमाणमा बिहीबार एभरेष्ट बैंकको संस्थापक सेयर कारोबार भएको हो ।