काठमाण्डौ । नेपाल उद्योग परिसंघले मंगलबार राजधानीमा “नेपाल बिजिनेश एक्सिलेन्स अवार्ड, २०१७” को आयोजना गरेको छ । 

अमेरिकामा प्रधान कार्यालय रहेको “फ्रस्ट एण्ड सुलेभान” नामक आर्थिक तथा व्यवसायिक क्षेत्रको संस्थासँग साझेदारीमा सम्पन्न उक्त कार्यक्रमकोे एक समारोहबीच मन्त्री परिषद्का पूर्व अध्यक्ष पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले उद्घाटन गरे । 

आफ्नो उद्घाटन मन्तव्यमा रेग्मीले नेपालको संविधान, २०७२ को कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा लम्कने हुँदा यस प्रकारका सृजनशील कार्यक्रमले व्यसायिक वातावरणमा सुधार हुने अपेक्षा व्यक्त गरे ।

नेपाल उद्योग परिसंघ र फ्रस्ट एण्ड सुलेभानको औद्योगिक विशेषज्ञले प्रतिस्पर्धी कम्पनीहरुको विविध आयामबाट मूल्याङ्कन गरी सन् २०१७ को विजनेश एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो । 

प्रतिस्पर्धी कम्पनीको व्यवसायिक योजना, सोको कार्यान्वयन, सेवाप्रवाह, सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, मुनाफाको स्तर, राजस्वमा पुर्याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्व, लागत न्यूनीकरण जस्ता विविध पक्षको सूक्ष्म विश्लेषण गरी विजयी कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो ।

जम्मा ११ वटा कम्पनीलाई वितरण गरिएको विजनेश एक्सिलेन्स अवार्ड, २०१७ लाई चार समूहः (क) उदयीमान व्यवसाय, (ख) मध्यमस्तरको व्यवसाय, (ग) ठूला व्यवसाय र (घ) मेगा व्यवसाय गरी विभाजन गरिएकोमा सिप्रदी ट्रेडिङ्ग (प्रा.)लि. ले यस वर्षको पहिलो पुरस्कार सुपर प्लाटिनम अवार्ड प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरी सुपर प्लाटिनम अवार्ड फस्र्ट रनरअप ग्रहण गर्न नेपाल एसबिआई बैंक सफल भएको छ । त्यसैगरी, मेगा बैंक र विजय डिस्ट्रिलरी (प्रा.)लि.ले गोल्ड अवार्ड पाएका छन् भने घोराही सिमेन्ट उद्योग प्रा.लि. र सिजी ब्रुअरी नेपाल प्रा.लि ले सिल्भर अवार्ड प्राप्त गर्न सफल भएका छन् । 

त्यसैगरी, प्रतिस्पर्धामा सामेल भएका चन्द्रागिरी हिल्स लिमिटेड, अल्फाबिटा इन्स्टीच्युट (प्रा) लि., एनएमबिबैंक लिमीटेड, टेलिटक (प्रा)लि, एवं एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले सम्मानपत्र पाएका छन् ।