काठमाण्डौ । बजारमा सन्नाटा छाउने क्रम जारी छ । साताको पहिलो, दोश्रो र तेश्रो दिन घटेको नेप्से परिसूचक बुधबार झिनो अंकले बढे पनि कारोबार रकमतर्फ बुधबार ठूलै गिरावट आएको छ । मंगलबार ५८ करोडको हाराहारीमा कारोबार भएको बजारमा बुधबार ४६ करोड ७५ लाखको मात्र कारोबार भएको हो । 

बुधबार नेप्से परिसूचक भने ३.६२ अंकले वृद्धि भई १५५४.६९ अंकमा पुुगेको छ । क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.६८ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा ०.१५ अंकको वृद्धि देखिएको छ । चार समूहको सूचकमा सामान्य बढोत्तरी भएको छ भने बाँकी चार समूहको सूचकमा रातो पोतिएको छ । 

वाणिज्य बैंक समूह ४.५३ अंकले बढेको छ भने बिमा, विकास बैंक र होटल समूह क्रमशः ३२.०३, ३.१६ र ६.६९ अंकले बढेका छन् । 

जलविद्युत समूह १.५३ अंकले घटेको छ भने बित्त समूह १.४६, उत्पादनमूलक ८.०२ र अन्य समूह १.१६ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ५२ कम्पनीका ८ लाख ९३ हजार ६ सय ८८ कित्ता सेयर ४६ करोड ७५ लाख १८ हजार ७ रुपैयाँमा किनबेच भए । सबैभन्दा बढी एभरेष्ट बैंकले ४ करोड १० लाख बढीको कारोबार गर्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड १८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड, ओरिएन्टल होटल लिमीटेडले १ करोड ७६ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ७४ लाख, एनसीसी बैंकले १ करोड ४० लाख बढीको कारोबार गरे । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ४ स्थान बिमा कम्पनी र एक स्थान होटल समूहले कब्जा गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले सबैभन्दा धेरै ६ प्रतिशतले सम्पत्ति मूल्य बढायो । कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक, न्याग्दी ग्रुप पावर लिमीटेड र नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

सबैभन्दा बढी हिमालयन डिस्टीलरीको मूल्य घट्यो । यो कम्पनीको सेयर मूल्य ७.५६ प्रतिशतले घट्यो । यस्तै, सेन्ट्रल फाइनान्सको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।