काठमाण्डौ । कांग्रेस र एमाओवादीका केही नेतालाई प्रयोग गरेर आफ्नो सरकार गिराउन भारतले चालेको षड्यन्त्रलाई छिचोल्न सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रबाटै खतरा बढेको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेता माधव नेपाल र पूर्व अध्यक्ष झलनाथ खनालको तीव्र गुटबन्दीले खतरामा पारेको महसुस गराएको देखिएको छ । 

नेपाल र खनाल पक्षले मंगलबार र बुधबार राजधानीमा मदन भण्डारी अध्ययन केन्द्रको ब्यानरमा गुट भेला गरेपछि भारतको षड्यन्त्रबाट समेत जोगिएको सरकार जुनसुकै बेला ढल्ने खतरा बढेको हो । यो कुरा महसुस गरेको एमाले संस्थापन पक्षका नेताहरु नेपाल खनाल गुटप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् भने  एमालेमा नयाँ खालको भाँडभैलो मच्चिने क्रमको सुरुवात भएको छ । 

मदन भण्डारी अध्ययन केन्द्रको अध्यक्ष पार्टीका सचिव योगेश भट्टराई रहेका छन् । उनी नेपाल–खनाल गुटका नेता मानिन्छन् । केही समयअघि राजधानीमा आयोजित एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको ८ औं महाधिवेशनमा पत्रकारलाई पेलेर र कयौंलाई तर्साएर सर्वसम्मति नेतृत्व चुनी पार्टीमा गुटबन्दी अन्तको काम थालनी गरेको जस लिन खोजेका भट्टराईकै नेतृत्वमा गुटको भेला भएपछि संस्थापनका नेताहरु तर्सिएका छन् । यो प्रकरणले एमालेमा ठूलै भाँडभैलो मच्चिनसक्ने संभावना रहेको स्रोतहरुले बताएका छन् । 

राजधानीमा आयोजित भेलामा संस्थापन पक्षका कुनै पनि नेता तथा कार्यकर्ताको सहभागिता थिएन । भेलामा सहभागी पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपालले ओली एकलौटी ढंगले सरकार चलाइरहेका र आफ्ना गुटका मानिसको हित मात्र हेरेको भन्दै कडा आलोचना गरेका थिए । आफ्नै पार्टीका वरिष्ठ नेताबाट आफू नेतृत्वको सरकारको कडा आलोचना भएको थाहा पाएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली झस्किएका स्रोतको भनाई छ । 

प्रधानमन्त्री ओलीको झस्काईंको सांकेतिक अभिव्यक्ति पार्टीका प्रचार विभाग उपप्रमुख तथा ओलीका विश्वासपात्र सूर्य थापाको भनाईमा झल्किएको छ । थापाले बुधबार बीबीसीलाई प्रतिक्रिया दिंदै भनेका छन्–‘त्यो गुटगत भेला हो । सरकारले राष्ट्रियता लगायतका मामिलामा लिएको अडानका कारण जनता र पार्टीपंक्तिको मन जितेको बेला केही नेताहरु यसरी छटपटिनु गलत हो।’ थापाको यो भनाईबाट समेत सत्ताको नेतृत्व गरिरहेको दलभित्रको गुटगत विवाद र भाँडभैलो कुन हदसम्म पुगेको रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । 

प्रचार विभागका उपप्रमुख थापाले भेलाप्रति रोष प्रकट गर्दै अगाडि भनेका छन्–‘पूर्वप्रधानमन्त्री भएर गाउँ कमिटीको भेलामा जाने, सरकार चलाउँदा आफूले जथाभावी गर्ने, अरुलाई चाँही शिक्षा दिन त मिलेन नि ।’ बुधवार भेलाको समापन कार्यक्रममा वरिष्ठ नेता नेपाल र मंगलबार उद्घाटन भएको कार्यक्रममा अर्का नेता झलनाथ खनाललाई प्रमुख अतिथि बनाइएको थियो ।