काठमाण्डौ । चीनको भरपर्दो साथ पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली भारतले आफ्नो नेतृत्वको सरकार ढाल्नलाई बनाएको योजना असफल पारी त्यसको बदला लिन कस्सिएका छन् । ओली नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरुको समेत साथ पाएपछि उनले सरकार ढाल्ने गोप्य डिजाइन बनाउन सहयोग गरेको, सरकारलाई असहयोग गरेको र परराष्ट्र मन्त्रालयसँग समन्वयबिना मनपरी गरेको भन्दै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । 

मन्त्रीपरिषद बैठकले भारतसँग मिलेर कांग्रेसले सरकार गिराउन बनाएको योजनाको बदला लिँदै कांग्रेस कोटाबाटै डेढ वर्षअघि राजदूत बनेका उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको हो । प्रारम्भमा सरकारले उपाध्यायलाई राजीनामा गर्न भने पनि उनले अटेर गरेपछि राजदूत फिर्ता बोलाउन सक्ने अधिकार प्रयोग गरेको हो ।  

उपाध्यायलाई डेढ वर्षअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा भारतको राजदूत बनाएर पठाइएको थियो । उनले भारतले लगाएको नाकाबन्दी खोल्न सकारात्मक भूमिका खेल्न नसके पनि पछिल्लो समय ओली नेतृत्वको सरकार ढाल्न दिल्लीमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी नेता कृष्णबहादुर महराको संलग्नतामा बनेको डिजाइनमा सहयोग गरेका सूचना सरकारले पाएको थियो । वर्तमान सरकार ढाल्ने खेलमा उपाध्यायको समेत क्रियाशीलता देखिएको भन्दै प्रधानमन्त्री ओलीकै प्रस्तावमा क्याबिनेटले उनलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ । 

उच्च स्रोतका अनुसार क्याबिनेटमा परराष्ट्रमन्त्री कमल थापाले उपाध्यायले नेपाल सरकारसगँ जानकारी नै नदिई नेपालका लागि भारतीय राजदूत रञ्जित रोयसँग मिली तराईका केही जिल्लामा मनपरी ढंगले विभिन्न कार्यक्रम गरेका आरोप समेत लगाएका छन् । 

‘भारतको गोटी बनेर कांग्रेसले सरकार गिराउन गरेको प्रयासको बदला प्रधानमन्त्रीले कांग्रेसकै कोटाबाट राजदूत बनेका उपाध्यायलाई फिर्ता बोलाएर लिएका देखिएको छ ।’ स्रोतले भन्यो–‘सरकारको यो कदमबाट प्रमुख प्रतिपक्षीसँग तिक्तता बढ्ने, यो कारणले भारतसँगको दूरी समेत अझ फराकिलो हुने र समग्र राजनीति नै थप अन्यौलमा फस्नसक्छ ।’ 

तर सत्तासीन दलका नेताहरु भने भारतको हेपाहा प्रवृतिको अगाडि नझुक्ने भन्दै चीनको साथ लिएर अगाडि बढ्ने र भारतलाई देखाइदिने अभियानमा लागेका स्रोतको भनाई छ । ‘कम्युनिष्टहरु एक भए कांग्रेस र भारतको केही नलाग्ने निश्कर्षमा पुगेका कारण समेत ओलीलाई ढुक्क भएर अगाडि बढ्ने बल मिलेको छ ।’–स्रोतले भन्यो  ।