काठमाण्डौ । देशको ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भारतीय कार्डले काम गरेको छ । भारतको संस्थापन पक्षले प्रयोग गरेको कार्डले पदाधिकारीको निर्वाचनमा पूर्ण रुपमा काम गरेको हो । भारतीय कार्डको प्रयोग सफल भएसँगै कांग्रेसको काँधमा बन्दूक राखेर राजतन्त्रका लागि आगामी रणनीति बनाउन कट्टर हिन्दूवादी नेता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अब सहज हुने विश्लेषण गरिएको छ । 
 

बिजशालाले कांग्रेस महाधिवेशनको उद्घाटनको दिन नै विशेष समाचार प्रस्तुत गरी भारतीय संस्थापन पक्ष र त्यहाँबाट परिचालित विभिन्न एजेन्सीहरुले सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीको वीपी पुत्र सशांक कोइरालालाई निर्वाचित गराउने गोप्य रणनीति बनाएको र सोही अनुसार कार्यकर्ताहरुलाई विभिन्न नेतामार्फत विभिन्न गोटीहरु चालिएको रहस्य सार्वजनिक गरेको थियो । सोही रहस्य अनुसारकै परिणाम निर्वाचनपछिको मतगणनाले देखाएको हो । 
 

कांग्रेसको सभापतिमा संस्थापन पक्ष र भारतले समेत नरुचाएका नेता रामचन्द्र पौडेलले लज्जाजनक हार व्यहोर्नुपरेको छ । पौडेललाई ५२६ मतको भारी अन्तरले पछार्दै वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिको कुर्सी कब्जा गरेका छन् । संस्थापनका सभापति उम्मेद्वारलाई देउवाले यति धेरै अन्तरले पराजित गरेपछि धेरैले अड्कल काटेका थिए, अब महामन्त्रीमा पनि देउवा गुटकै उम्मेद्वार अर्जुन नरसिंह केसीले स्वभाविक रुपमा जित्नेछन् । तर यो अनुमान ठीक उल्टो निस्कियो । अर्थात, सभापतिमा ५२६ को भारी अन्तरले विजय हासिल गरेको देउवा गुटले महामन्त्रीमा चाहि ४ सय मतको भारी अन्तरले हार व्यहोर्नुपर्यो । सभापतिको भन्दा ठ्याक्कै उल्टो परिणाम आउनुको भित्री कारण समेत भारतीय रणनीति नै थियो । भारतले आफ्ना विभिन्न एजेन्सीलाई खटाएर सभापतिमा देउवा र महामन्त्रीमा कोइरालालाई जुनसुकै हालतमा पनि निर्वाचित गराइछाड्ने रणनीति अंगिकार गरेको स्रोतहरुले उल्लेख गरेका छन् । निर्वाचनअघिदेखि नै भारतीय पक्षकै योजनामा सभापतिमा देउवा र महामन्त्रीमा कोइराला जिताउने अभियान नै संचालन गरिएको थियो । यो अभियानलाई सफल बनाउन भारतीय पक्षले देउवा समूहलाई राम्रै आर्थिक सहयोग समेत उपलब्ध गराएको थियो भने भारतीय गुप्तचर संस्था रअ लगायतका एजेन्सीबाट कांग्रेस निर्वाचनमा आफूहरुको लाइनलाई सफल बनाउनैका लागि भनेर २० जनालाई प्रत्यक्ष रुपमै खटाइएको थियो । 
 

के हो भारतीय रणनीति ?


भारतीय जनता पार्टी(भाजपा) अहिले सत्तामा छ । सोही पार्टीका नेता नरेन्द्र मोदी भारतका प्रधानमन्त्री छन् । उनी कट्टर हिन्दूवादी नेता हुन् । भारतमै समेत मोदी सत्तामा पुगेपछि हिन्दू बाहेकका अन्य धर्म मान्नेहरुलाई सरकारले कठोर व्यवहार गर्ने गरेको बिषय बेला बेला बाहिर आउने गरेको छ । आफू कट्टर हिन्दू भएकै कारण मोदीले नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र बनाएकोमा चित्त दुखाउने गरेका छन् । नेपाल आउँदा जनकपुर जान नपाएकै कारण ५ महिनासम्मको नाकाबन्दीको उपहार दिएका मोदीले पछिल्लो समय हिन्दू राष्ट्र ब्यूँताउन र त्यसको आडमा राजतन्त्र ल्याउन निकै ठूलो कसरत गरिरहेका शक्तिहरुलाई सहयोग गरिरहेका छन् । यही मेसोमा पछिल्लो समय भारतीय संस्थापन पक्षले शेरबहादुर देउवालाई हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको विषयमा गोप्य रुपमा सहमत गराइसकेको स्रोतको दाबी छ । वीपी पुत्र सशांक कोइराला आफैँ पनि राजावादी हुन् । उनले निर्वाचनको केही दिनअघि बीबीसीलाई अन्तर्वार्ता दिने क्रममा घुमाउरो ढंगले हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गरेका थिए । यसको अर्थ, भारतको हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको चासोमा सहयोग गर्न देउवा र कोइराला नै उपयुक्त पात्र थिए, यही कारण भारतले उनीहरुलाई खुलेरै आर्थिक, भौतिक, रणनीतिक सहयोग गर्यो । सोही अनुसार सेटिङ मिलाइयो र भारतले खेलेको कार्डले सफलता पाएसँगै कांग्रेसको सभापतिमा देउवा र महामन्त्रीमा कोइराला भारी मतले विजयी भए । 

 

किन हारे केसी ? 
देउवा गुटबाट महामन्त्रीको उम्मेद्वार बनेका अर्जुन नरसिंह केसीले राम्रो संभावना भएका र कार्यकर्ताबाट अधिक रुचाइएका नेता भनिए पनि अन्ततः ४ सय मतले पछि पर्दै वीपी पुत्रसँग हार व्यहोर्नुपरेको छ । केसी हार्नु पछाडिको मुख्य कारण भारतीय पक्षले उनलाई मन नपराउनु हो भने अन्य थुप्रै आन्तरिक कारणहरुले समेत काम गरेका छन् । अर्जुन नरसिंह केसीले १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा अधिक मत ल्याएर विजय हासिल गरेका थिए । उनले यसपटक पनि यस्तै हुने र आफ्नो कार्यकर्तासँगको व्यक्तिगत सम्बन्धले पनि काम गर्ने सोचेका थिए । तर उनी १२ औं महाधिवेशनमा रहेको संस्थापन क्याम्प छाडेर यसपटक देउवा क्याम्पमा पुगेका थिए । महाधिवेशनको अन्तिम अवस्थामा संस्थापन छाडेर देउवा क्याम्प पुगेका केसीलाई संस्थापनका केही नेताले ‘धोकेवाज’ भनेर प्रचार गरेका थिए भने देउवा पक्षकै केहीले ‘अवसरवादी’को संज्ञा दिएका थिए । कांग्रेस सभापतिहरुका अनुसार भित्री रुपमा शेरबहादुर देउवाले नै सुुदुर पश्चिम र पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाका सभापति तथा महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो निवासमा बोलाएर महामन्त्रीमा सशांक कोइरालालाई भोट हाल्नु भनेका थिए । देउवा निवास पुगेर निर्देशित एक जिल्ला सभापतिका अनुसार केसीलाई भन्दा कोइरालालाई महामन्त्रीमा भोट हाल्ने उर्दी गरिएको थियो । अर्कोतर्फ, देउवा क्याम्पकै शक्तिशाली नेताको रुपमा देखिएका खूमबहादुर खड्काले समेत आफ्ना पकेटका कार्यकर्ताहरुलाई केसीलाई क्रस गरेर महामन्त्रीमा कोइरालालाई मतदान गर्न कडा उर्दी जारी गरेका थिए । खड्कासँग पकेट भोट मात्रै ३ सय बढी थियो भनिन्छ । खड्का कट्टर राजावादी र हिन्दूवादी नेता हुन् । उनको भारतीय संस्थापन पक्षसँग निकै राम्रो सम्बन्ध छ र उनी भित्री रुपमा राजसंस्था पुनस्थापनाको पक्षमा क्रियाशील छन् । यस्तै, पछिल्लो समय करिब १ सय भोट परिचालन गर्ने हैसियत बनाएका प्रकाशशरण महतले समेत महामन्त्रीमा केसीलाई क्रस गर्न र कोइरालालाई मत हाल्न आफू निकटका कार्यकर्ताहरुलाई उर्दी गरेका थिए । स्वयम् देउवा नै भित्री रुपमा केसीविरुद्ध लाग्दा, देउवा क्याम्पका रणनीतिकार मानिइने राजावादी नेता खड्काले समेत ‘जसरी हुन्छ केसी हराउ अभियान’ संचालन गर्दा र महत जस्ता साना नेताहरु समेत विपक्षमा उभिँदा अपेक्षा भन्दा ठीक विपरीत भारी मत अन्तरले केसीले महामन्त्रीमा हार व्यहोर्नुपरेको हो । सभापतिमा निर्वाचित देउवाले समेत केही जिल्लाका पार्टी सभापति र प्रतिनिधिहरुलाई निवासमा बोलाएर महामन्त्रीमा सशांकलाई भोट हाल्न र उनका लागि माहौल तयार गर भन्नु पछाडिको कारण भारतीय कार्डको प्रभाव पनि रहेको स्रोतको भनाई छ । 

 

केसीले आफ्नै परिवारका सदस्यहरुबीचको प्रतिस्पर्धाका कारण समेत हारेका देखिन्छ । केसी समूहकै रणनीतिमा युवा नेता गगन थापालाई महामन्त्रीमा प्रस्तुत गरिएको थियो । थापा संस्थापनबाटै महामन्त्रीमा उठ्दा उनले संस्थापनबाट कोइरालालाई जाने मत काट्ने र यसले केसीलाई जित हासिल गर्न सहज हुने विश्लेषण गरिएको थियो । थापाले महामन्त्रीमा उम्मेद्वारी दिंदा यसले सशांकलाई पराजय चखाउने र महामन्त्रीमा केसीले जित्ने केसी समूहको विश्लेषण थियो । तर केसी समूहको यो विश्लेषण फेल भयो र आफ्नै रणनीति आफ्नै लागि ब्याक फायर बनिदियो । सशांकको भोट काट्ने आशासहित ज्वाइँ गगनलाई प्रस्तुत गरे पनि अन्ततः केसीलाई आउने धेरै मत गगनले नै काटिदिए । केसी समूहले आफूले जितेको भए गगनको यो योगदानका लागि उनलाई सहमहामन्त्रीमा मनोनयन गर्ने वचन दिएको थियो । 
ज्ञानेन्द्र खुशी
कांग्रेसको परिणाम आफ्नो पक्षमा आएको ठान्ने पूर्व राजा ज्ञानेन्द्र निकै धेरै खुशी भएका दरबारिया स्रोतहरुले बताएका छन् । उनीहरुका अनुसार भारतीय रणनीतिको विषयमा पूर्व राजा ज्ञानेन्द्र समेत जानकार थिए । पछिल्लो समय उनी बैंककमा रहँदा भेट गर्न पुगेका भारतीय प्रतिनिधिहरुले खूमबहादुर खड्का लगायतका नेतासँग कुरा भएको र कांग्रेस महाधिवेशनमा आफू अनुकुलका नेतृत्व आए हिन्दू राष्ट्र र त्यसैको आडमा राजतन्त्र पुनस्र्थापना गर्न आफूहरुलाई सहज हुने भनेको थियो । यसै कारण ज्ञानेन्द्र समेत कांगे्रस सभापति र महामन्त्रीको मतपरिणामको व्यग्र प्रतिक्षामा थिए । भारतले भनेजस्तो र आफूले चाहेजस्तो मत परिणाम आएपछि उनी खुशी भएका स्रोतको भनाई छ । कांग्रेसका राजावादी नेता, भारतीय संस्थापन पक्ष र राजाबीच केही समयअघि सुरुमा हिन्दू राष्ट्र कायम गर्ने र त्यसको आडमा केही समयपछि राजसंस्था पुनस्र्थापना गर्ने सहमति भइसकेको छ ।