काठमाण्डौ । गाडीको चाप बढ्दै गरेको साँघुरो सडकको सहर काठमाडौंमा ०६८ असोज ८ गते एउटा डोजर चल्यो । तिनकुनेको आइल्यान्ड भत्काउन सक्रिय थियो डोजर । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजना र निर्देशनमा आइल्यान्ड भत्किएपछि काठमाडौं नै तरंगित भयो । सडक मिचेर बनाइएका महल भत्किने भयले अतिक्रमणकारीका कान टाठा भए, कतिपय नागरिक आफ्नो निजी सम्पत्ति गुम्ने भएर चिन्तित पनि भए । 

र, दसैँ–तिहार सकिएर मंसिर लागेलगत्तै जब सडक विस्तारको डोजरले नयाँ बानेश्वरको एभरेस्ट होटेलको पर्खालसहित स्विमिङ पुल सोहोर्यो, अब तरंग देशभर फैलियो । त्यतिवेलासम्म पनि कृष्णहरि बास्कोटा अर्थ मन्त्रालयका सचिव नै थिए । एभरेस्टको पर्खाल भत्काउन डोजरको पछि–पछि लाग्ने एक पात्र थिए, ट्राफिक प्रहरी महाशाखाका तत्कालीन प्रमुख डिआइजी गणेश राई ।

तारे होटेलमा डोजर चलाइसकेपछि आमनागरिकको उत्तेजना कमै भयो । सायद, पहिले सामान्य नागरिकको घर भत्काएर काठमाडौं चिल्लो पार्ने पक्रिया थालेको भए सरकारलाई अप्ठ्यारो पर्ने थियो । तारे होटेलबाटै अभियान थाल्ने सकारको चातुर्यलाई अर्थ मन्त्रालयबाटै बास्कोटाले सलाम गरेका थिए । र, चाहेका थिए काठमाडाैँ बदल्ने अभियानमा सरिक हुन पाऊँ । ‘हो, म एउटा अवसरमा सरिक हुन पाऊँ भन्ने सोचिरहेको थिएँ,’ बास्कोटाले सुनाए ।

प्रचारमुखी भएको आरोप : जतिवेला सडक विस्तारको गति दौडाउने योजना बन्दै थियो, त्यतिवेला बास्कोटा प्रधानमन्त्री कार्यालयमै तानिए । ०६९ कात्तिक ३ गते प्रधानमन्त्री कार्यालयमा हाजिर भएका उनी सडक विस्तार अनुगमन समितिको संयोजक बने । धेरै ठाउँको सडक विस्तार यसपछि नै भएको र विभिन्न चुनौती झेल्नुपरेको अनुभव बास्कोटासँग छ ।

एकातिर संरचनाहरू भत्काइँदै थियो, अर्कातिर सडक बन्दै थियो । दुवै कामको सूक्ष्म अनुगमन हुन्थ्यो । मन्त्रालयका सचिव, विभागीय प्रमुख, कार्यालय प्रमुख, ट्राफिक प्रहरी र सम्बन्धित कर्मचारी लिएर बास्कोटा ठाउँ–ठाउँको अनुगमनमा निस्किन्थे । ‘सडक अनुगमनमा लावालस्कर नै लाग्थ्यो, खासगरी शनिबार बिहान ७ बजेदेखि,’ बास्कोटाले भने, ‘बग्गीखानामा सबै भेट भएर अनुगमनमा निस्किइन्थ्यो । २५–३० वटा गाडी हुन्थे, प्रत्येकमा कम्तीमा चारजना व्यक्ति भइन्थ्यो ।’

अनुगमन गर्ने स्थानबारे तीन दिनअघि नै प्रधानमन्त्री कार्यालयमा सूचना पुग्थ्यो । अनुगमन डिआइजी राईको कमान्डमा हुन्थ्यो । सडक निर्माणमा भएका समस्याको पहिचना ट्राफिक प्रहरीले गथ्र्यो । तर, समस्याको समाधान गर्न गम्भीर भएर लाग्दा धेरै चुनौती भोग्नुपरेको बताउँछन् बास्कोटा । ‘सडकमा झरेर समस्या बुझ्दा, मिडियासँग समस्याबारे बोल्दा साथीहरूबाटै मलाई प्रचारमुखीको आरोप लाग्यो,’ उनले भने, ‘आरोप गर्नेहरू सिन्को नभाँच्नेहरू नै थिए, त्यसैले हतोत्साही भइनँ ।’

छुद्र भएको आरोप : गुणस्तरहीन काम भए तत्काल एक्सन लिन बास्कोटालाई प्रधानमन्त्रीको निर्देशन थियो । किनभने, उनी अनुगमनका संयोजक थिए । त्यसैले बास्कोटाले कतिपय परिस्थितिमा कडा व्यवहार देखाउनुपर्यो, कतिपयलाई कारबाहीसमेत गर्नुपर्यो । त्यसैले उनी कसै–कसैको आँखामा छुद्र देखिए । ‘गुणस्तरहीन पिच भत्काएँ, ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएँ, यस्ता गतिविधिमा कोहीकोही ठुस्किन्थे र बाहिर कुरा काट्थे,’ उनले स्मरण गरे, ‘भौतिक मन्त्रालयका सचिव, सडक विभागका डिजी, डिभिजन कार्यालयका इन्जिनियर सबै एकसाथ खटिन्थ्यौँ, बिजुली र टेलिफोनका तार, पानीको पाइपका कारण सडक विस्तारमा समस्या भए सम्बन्धितलाई तत्काल बोलाएर समाधान गर्न निर्देशन दिइन्थ्यो । कतिपय अवस्थामा कटु शब्द प्रयोग गर्न बाध्य हुन्थेँ ।’

ठेकेदारको जालझेल : बास्कोटाले बाबुराम भट्टराईसँग मात्रै काम गरेनन् । सडक विस्तार योजना बाबुरामले सुरु गरे पनि खिलराज रेग्मी र सुशील कोइरालाका पालामा पनि अभियान जारी थियो । यी तीनै सरकारमा अनुगमनको जिम्मा बास्कोटालाई नै मिल्यो । उनले बाबुरामसँग पाँच महिना, खिलराजसँग ११ महिना र सुशील कोइरालासँग पाँच महिना काम गरे । उनी समस्यासँग जुध्थे, तैपनि निरन्तर अवसर पाए । त्यो वेलाका समस्या सुनाउँदै उनी भन्छन्, ‘सडक निर्माणको ठेक्का लागेर पनि लामो समय कामै हुँदैनथ्यो । त्यतिवेला गिटी–बालुवा नै पाइँदैनथ्यो । यही निहुँमा ठेकेदार बम्किएर हिँड्थे ।’

जिम्मेवारकै खेल : सडक विस्तारका क्रममा ठाउँ–ठाउँमा अवरोध थियो । जनस्तरबाट कहीँ कतै भएको विरोधमा घिउ थप्ने काम राजनीतिक नेताहरूले नै गरेका थिए । विस्तार अभियानमा राजनीति खेलिएको थियो । ‘विरोध मात्रै होइन, अदालतमा मुद्दासमेत हालिए, अदालतले स्टे अर्डर जारी गथ्र्यो,’ उनले देखेको भने, ‘सरकारकै निकाय पनि सडक विस्तारमा अवरोधी बनेर उदाए । विद्युत् प्राधिकरणले पोल नहटाउने, खानेपानीले ढल तथा पाइप नबिछ्याउनेजस्ता काम भए ।’ कामको मात्रै होइन, बजेटकै पनि अभाव भयो सडक विस्तारमा । ठेक्का लागेपछि पनि अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा समस्या निम्तिएको बास्कोटा सुनाउँछन् ।

अवरोध र धम्की : सडक विस्तारमा कूटनीतिक नियोगका कार्यालयनजिक मात्रै समस्या भएन, धर्मका नाममा मन्दिरआसपास पनि लफडा भयो । ‘केही चतुर व्यक्तिले मन्दिरसँगै घर बनाउने रहेछन् र मन्दिर नभएका ठाउँमा समेत रातारात ढुंगा ल्याएर अबिर घस्दा रहेछन्,’ बास्कोटाले अचम्म मान्दै सुनाए, ‘मन्दिर हत्तपत्त नभत्काइने हुँदा सडक मिचेर बनाइएका घर जोगिन्छ भन्ने सोच्दा रहेछन्, पीपलका बोट पनि सडक विस्तारमा अवरोधको माध्यम बने ।’

सार्वजनिक जग्गा अतिक्रमण गरेर महल ठड्याउनेहरूले त्यहीँबाट करोडौँ कमाएका थिए । घर भत्किँदा उनीहरूले खाइपाई आएको सबै गुम्थ्यो । त्यसैले यस्ता काममा धम्की आउनु स्वाभाविक हो । बास्कोटाले पनि कुनै न कुनै रूपमा कैयौँ धम्की खेपे । ‘सीधै त धम्की आएन, तर मातहतका कर्मचारीले धम्की आएको गुनासो गर्थे,’ उनले भने, ‘ठेकेदारबाट पनि अप्रत्यक्ष खालका धम्की आउँथे । नागढुंगा सडक विस्तारका क्रममा गणेश मन्दिरको भित्ता फोर्न आदेश दिँदा मिडियामार्फत विरोधका स्वर आए, गाउँ नै पहिरोले लाने भयो भन्दै ।’

हिजो दुःख, आज सुख : बास्कोटा त्यतिखेर सुटमै ठाँटिएर एक हातमा डायरी र अर्को हातमा टोपी बोकेर सडक अनुगमनमा खटिएको भिडियो तथा तस्बिर मिडियामा आउँथे । यस्ता दृश्यले उनलाई उत्साहित बनाउँथ्योे । दिनभरको अनुगमनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ हुन्थ्यो । ‘बालुवाटार पुग्नुअघि नै मैले प्रधानमन्त्रीलाई फोन गरिसक्थेँ, प्रधानमन्त्रीले मेरो फोन तत्काल उठाउनुहुन्थ्यो, मेरा कुरा सुन्नुहुन्थ्यो,’ उनले भने, ‘ज्येष्ठताका नाताले पनि निजामती कर्मचारीमा मुख्यसचिव लीलामणि पौडेलपछि मै थिएँ र तीनैजना प्रधानमन्त्रीलाई आफ्नो कामबाट सन्तुष्ट बनाउन पनि सकेँ । अहिले विस्तार भइसकेका ठूला सडक देख्दा गर्वानुभूति हुन्छ, आफूले गरेका काममा ।’ यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।