काठमाण्डौ । सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्र जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ । ‘निकै दुःखद घटना भएको छ । हामीले यत्रो अभियान चलाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिनुमा सवारीसाधनको चरम लापरबाही देखिएको छ । यस घटनालाई हामीले निकै संवेदनशील रूपमा लिएका छौं’, ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङमार लामाले भने। उनले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयसँग घटनाका अपराधीलाई सख्त कारबाही गर्न अनुरोध गरेको बताए। दोषी धरौटीमा समेत नछुट्ने उनको भनाइ छ।

वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन हिँडेकी २३ वर्षीया रविना चौधरीको सोमबार चक्रपथमा जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा गाडीको ठक्करले मृत्यु भएको छ ।

वीरगन्ज-काठमाडौं चल्ने ना.४ख ४२६२ नम्बरको रात्रिकालीन यात्रुवाहक बसले रविनालाई ठक्कर दिएको हो । यात्रु लिएर आइतबार साँझ वीरगन्जबाट हिँडेको उक्त बस यात्रुलाई ओराल्दै गौशाला-चाबहिलको बाटो भएर बसपार्कमा ‘बिसौनी’ गर्न हिँडेको थियो । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत रविनाले बीबीएस चौथो वर्षको परीक्षा दिएर जागिर सुरु गरेकी थिइन् । ‘त्यहाँको म्याम विदेश गएको बेला बहिनी (रविना) लाई दुई महिना पढाउन दिइएको थियो । पछि म्याम फर्किएपछि बहिनीले पढाउन छाडेकी थिइन् । बीबीएसको पढाइ सकेपछि उनलाई सोही स्कुलले बोलाएको थियो’, दाजु ईश्वरले भन्नुभयो, ‘पढाउन बिहान सुकेधाराबाट बस चढेर हिँडेकी थिइन् । वसुन्धरामा ओर्लिएर बाटो काट्न खोज्दा गाडीले ठक्कर दिएछ ।’

अविवाहित रविना चार छोरीमध्ये साहिली सन्तान् थिइन् । उनी बुबा-आमा, दाजु र दिदी-बहिनीसहित सुकेधारामा बस्दै आएकी थिइन् । आफन्तले शव बुझ्न मानेका छैनन् । मंगलबार यातायात व्यवसायी महासंघसँग छलफल गरेपछि मात्र शव बुझ्ने दाजु ईश्वरले बताए। प्रहरीले बसचालक बारा निजगढका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख गोविन्द पुरीले बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको बताए। चक्रपथको गौशाला-स्वयम्भू सडकखण्डमा पैदलयात्रु बढी दुर्घटनामा पर्ने गरेका छन् । ‘यो खण्डमा चालकले तीव्रगतिमा सवारीसाधन गुडाउँछन्, बाटोको बनोट पनि त्यही किसिमको भएका कारण चालकले होसियारी अपनाउन नसक्दा दुर्घटना बढेको हो’, डीएसपी पुरीले भने। यो खबर आजको अन्नपूर्णमा छापिएको छ।