काठमाण्डौ । देशमा संकटको थुप्रो लागेर जनतामा चरम निराशा पैदा भइरहेको बेला युवाहरुको सक्रियतामा गणतन्त्र खारेजी र राजतन्त्र पुनस्र्र्थापना अभियान सुरु भएको छ ।    

राजावादी युवाहरुको संगठन शाही युवा शक्ति नेपालको अगुवाईमा गणतन्त्र खारेजीको अभियान सुरु भएको हो । यही नारा घन्काउँदै युवाहरुले शनिवार राजधानीको मुख्य क्षेत्रमा वृहत प्रदर्शन गरे ।    

शाही युवा शक्ति नेपालको आयोजनामा काठमाण्डौको भद्रकालीबाट प्रदर्शनको सुरुवात भएको थियो । प्रदर्शनमा सहभागीहरुले गणतन्त्रको विपक्ष र राजा तथा राजतन्त्रको पक्षमा नाराबाजी गर्दै शहीदगेटबाट अगाडि बढी रत्नपार्कसम्म नाराबाजीसहितको जुलुस निकालेका थिए । रत्नपार्क क्षेत्रमा पुगेर जुलुस सभामा परिणत भएको थियो ।  

 

प्रदर्शनमा सहभागीहरुले गणतन्त्र खारेज हुनुपर्ने, महंगी, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण हुनुपर्ने, जनताको हित गर्ने सवालमा असफल भएकोले वर्तमान सरकारले राजीनामा दिनुपर्ने, भारतीय पक्षको उक्साहटमा मधेशवादी दलहरुले लगाएको नाकाबन्दी पूर्ण रुपमा खुल्नुपर्ने, राजसंस्था पुनस्र्थापना हुनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले रत्नपार्क क्षेत्रमा सभा गर्नुअघि करिब आधाघण्टासम्म नाराबाजी समेत गरेका थिए । सो क्रममा सर्वसाधारणहरुले समेत उनीहरुलाई साथ दिएका देखिन्थ्यो ।  

विरोधसभामा शाही युवा शक्ति नेपालका सभापति पशुपति खड्का, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राष्टवादी नागरिक समाजका संयोजक चन्द्रबहादुर रामदाम, शाही युवा शक्ति नेपालका महासचिव कृष्णराज थापा लगायतले बोलेका थिए । अधिकांश वक्ताहरुले आफूजस्ता युवाहरुलाई राजनीतिक दलले राजतन्त्रको नाममा चरमको शोषण भएको भन्दै आँखामा कालोपट्टि बाँध्न लगाएर जनआन्दोलनमा उतारेको र अहिले आफै महाराजाजस्तो भएर देश लुटिरहेको आरोप लगाएका थिएए । उनीहरुले गणतन्त्रको नाममा सुरु भएको व्यवस्थाले एकताबद्ध नेपाल तथा नेपालीलाई आपसमा विभाजन गरेको भन्दै अहिलेको शासन व्यवस्था नेपालका लागि अफाबसिद्ध हुने तर्क समेत पेश गरेका थिए । 'पहिला राजा एकताको केन्द्र थिए, उनी हुँदा नेपालीहरुबीच अहिलेको जस्तो विभाजन थिएन ।' वक्ताहरुले भने-'अहिले पो हामीमा चेत आएको छ, राजाले हामीमाथि शोषण होइन, हामी सबैलाई जोड्ने काम गरेका रहेछन् । राजा र राजसंस्था एकताको प्रतीक पो रहेछ ।' उनीहरुले एउटा राजालाई फालेर देशमा ६ सय १ राजाले जन्म लिएका र उनीहरुले यो वा त्यो बाहानामा देश लुटिरहेका दाबी गर्दै देशव्यापी रुपमा राजसंस्था पुनर्बहालीको आन्दोलन सुरु गर्नुपर्नेमा जोड दिए ।    

सभापति पशुपति खड्काले अहिलेबाट सुरु भएको अभियानले बिस्तारै आन्दोलनको रुप लिने र यही अभियानलाई मेची महाकालीसम्म पुर्याएर राजसंस्था पुनस्र्थापना गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नेपाली नेताहरुले जनतामाथि गरिरहेको अन्यायको विरुद्धमा एकजुट भएर लड्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए । ‘अब हामी राष्ट्रका लागि अघि बढौ, देशलाई बचाउनुपर्छ ।’ उनले थपे–‘देश टुक्रा टुक्रा पार्न खोजिदैछ, यसलाई रोक्ने शक्ति युवा मात्र हो ।’  

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले कसैलाई तराई चाहिएको, कसैलाई पहाड तथा कसैलाई हिमाल चाहिएको र देशलाई राजनीतिक दलको आवरणमा प्रस्तुत भएका गलत तत्वहरुले लुछेर खान खोजेका आरोप लगाए । ‘दलहरुले ल्याएको व्यवस्थाले हामीलाई छिन्नभिन्न बनायो ।’ उनले भने–‘त्यसकारण सबैलाई जोड्ने राजतन्त्रको पुनर्बहाली मात्र देश जोगाउने एक मात्र विकल्प हो ।’