काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले काठमाण्डौ उपत्यकाका ५ जनामा कोरोना संक्रमण देखिएको शनिवार नियमित प्रेस व्रिफिङको क्रममा बताएको थियो । ती ५ जना को र कहाँको होलान् ? मन्त्रालयका अधिकारीहरुले थप जानकारी दिएका छन् । 

उनीहरुका अनुसार काठमाण्डौमा भेटिएका २ महिला र २ पुरुष गरी ४ संक्रमित प्रहरी अस्पतालमा उपचार गराइरहेका प्रहरी परिवार तथा अस्पतालमा कार्यरत प्रहरीहरु रहेका छन् । 

प्रहरी अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी, एकजना सोही अस्पतालमा डायलासिस गराइरहेकी महिला र अर्की एक प्रहरी पत्नी भएको खुलेको हो । 

यसैबीच, भक्तपुरको कमल विनायकमा संक्रमित भएको भनिएकी ३० वर्षीया महिला सुत्केरी रहेकी समेत खुलेको छ। उनी भक्तपुरको कमल विनायकमा डेरा गरी बसेकी महिला रहेकी खुलेको हो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार कमल विनायकमा डेरा गरी बस्ने ती संक्रमित युवतीको ३ दिनअघि मात्रै मध्यपुर अस्पतालमा अपरेसनबाट डेलिभरी गरिएको थियो । डेलिभरीपछि भने ती युवती कोटेश्वरमा रहेका आफन्तकोमा बस्दै आएकी छिन् ।