काठमाण्डौ । अनियन्त्रित आवातजावतका कारण काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि सरकारले कडाई गरेको छ । 

पछिल्लो समेत सोमबार एकैदिन काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ५४ जना संक्रमित थपिएका थिए । योसहित काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २३९ पुगेको छ । 

असार १ गते काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ४४ जना कोरोना संक्रमित थिए । त्यसपछि तीव्र गतिमा बढ्न थालेको यो संख्या असार २२ गतेसम्म आइपुग्दा २३९ पुगेको हो । १० दिनअघि ७८ जना मात्र संक्रमित रहेको काठमाण्डौमा पछिल्ला केही दिन संख्या ह्वात्तै बढ्न पुगेको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १६१, ललितपुर र भक्तपुरमा ३९ ३९ जना कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमित बढेसँगै राजधानीका कोरोना अस्पताल भरिभराउ बन्न पुगेका छन् । 

काठमाण्डौमा शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र दुवाकोटको केएमसी अस्पताललाई कोरोना विशेष अस्पताल भनिएको छ । यी अस्पताल कोरोना संक्रमितका कारण भरिभराउ बन्न पुगेका हुन् । 

काठमाण्डौ उपत्यकामा हालसम्म २ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । देशभर ३५ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो समय काठमाण्डौको ढलमा समेत कोरोना भाइरस देखिएको भन्दै जनजीवन त्रस्त भएको छ । तर, स्वास्थ्यविज्ञहरुले ढलमा कोरोना भाइरस फेला पर्दैमा काठमाण्डौ उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिएको मान्न नसकिने बताइरहेका छन् । यद्यपि सर्वसाधारण र स्वयम् सरकारको समेत संक्रमण समुदायस्तरमा फैलिएको हुनसक्ने आशंकालाई मेट्न हाल काठमाण्डौका विभिन्न १० वटा संभावित हटस्पटहरुको पहिचान गरी ठूलो संख्यामा पीसीआर परीक्षण थालिएको छ । यसबाट संक्रमण समुदाय स्तरमा फैलिएको वा नफैलिएको यकिन हुने बताइएको छ । 

काठमाण्डौमा कडाई
पछिल्लो समय सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो मात्र बनाएको हो । तर, सरकारले अनुमति नै नदिएका क्षेत्रहरु समेत धमाधम खुलिरहेका छन् । जस्तो: सरकारले सबै खालका होटल तथा रेष्टुरा, सलुन, ब्यूटीपार्लर जस्ता क्षेत्र, भाडाका गाडी खुलाएको छैन । तर, यी सबै क्षेत्र स्वस्फूर्त खुलिसकेका छन् ।

खुलिसकेका क्षेत्रमा समेत स्वास्थ्य सम्बन्धी सावधानी अपनाइएको छैन । काठमाण्डौमा मानिसहरु बिना मास्क निर्वाध हिँडिरहेका छन् । भौतिक दूरी समेत कायम गर्ने गरिएको छ । यसले संक्रमण फैलिने जोखिम बढेको भन्दै गृहमन्त्रालयले सोमबार देशकार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै घरबाहिर निस्किँदा मास्कबिना निस्किएकालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइसकेको छ । 

मास्क अनिवार्य लगाउने विषयमा कडा रुपमा प्रस्तुत भएको सरकारले काठमाण्डौ उपत्यकामा जोरविजोर प्रणालीका आधारमा नचल्ने सवारी साधानहरुको निर्वाध आवागमनमा समेत कडाई गरेको छ । आइतबारदेखि नै जोरविजोर प्रणालीविपरीत चलाइएका निजी सवारी साधनलाई चौक चौकमा रोकेर ट्राफिक प्रहरीले कारबाही अगाडि बढाएको छ । सोमबार र मंगलबार यो व्यवस्थामा थप कडाई गरिएको छ । 

जोरविजोर प्रणाली सम्बन्धी नियम उल्लंघन भए नभएको चेकजाँच गर्न ट्राफिक प्रहरीले काठमाण्डौका ५६ वटा ठाउँमा चेकप्वाइन्ट राखी जाँच गर्न थालेको छ । 

ट्राफिक प्रहरीले सोमवार मात्र जोर बिजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका १६११ वटा दुई पाङ्ग्रे, ४१५ भाडाका र ३१९ वटा साना तथा ठूला सवारी गरी जम्मा २३४५ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई कारबाही गरिएको बताएको छ । 

प्रहरीले जोर दिनमा जोर नम्बर प्लेटका र विजोर दिनमा विजोर नम्बर प्लेटका गाडी मात्र कुदाउन पाइने व्यवस्थालाई अझ कडा पारिने प्रष्ट पारेको छ । 

यस्तै, गृह मन्त्रालयले मातहतका निकायहरुलाई सरकारबाट अनुमति नदिइए पनि खुलेका क्षेत्रहरु बन्द गराउन निर्देशन दिइसकेको छ । अब प्रहरीको सहयोगमा स्थानीय प्रशासन तथा स्थानीय निकायले खोल्न अनुमति नपाएका क्षेत्रहरु बन्द गराउन सक्नेछन् । 

उपत्यकामा संक्रमणको बढ्दो दर यसैगरी जारी रहे अवस्था नियन्त्रणमा लिन सरकारले पूर्ण लकडाउनको विकल्पसम्म अपनाउन सक्ने गृहका अधिकारी बताउँछन् ।