काठमाण्डौ । सरकारले काठमाण्डौ लगायतका क्षेत्रका फेरि लकडाउन लगाउने विषयमा पूर्व तयारी थालेको छ । 

काठमाण्डौ उपत्यकामा समेत दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमितको पहिचान हुन थालेपछि संभावित लकडाउनको विषयमा निर्णय गर्नका लागि प्रधानमन्त्रीले गृहकार्य थालेका हुन् । 

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले फेरि लकडाउन आवश्यक छ या छैन भन्ने विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिरहेका छन् । यो क्रममा मंगलबार २० जना जनस्वास्थ्य विज्ञहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको थापाले जानकारी दिए । 

प्रधानमन्त्रीले निकै लामो समयको लकडाउनलाई खुकुलो पार्ने निर्णयमा पुग्नुअघि समेत २५ जना विज्ञहरुलाई बोलाएर परामर्श गरेका थिए । विज्ञहरुले दिएको सुझावका आधारमा सरकारले लकडाउनलाई केही खुकुलो बनाएको थियो । 

सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । केही हप्तापछि लकडाउनलाई क्रमशः खुकुलो बनाउने काम गरिएको छ । सरकारले लकडाउन अन्तको घोषणा चाहि साउन ७ गते गरेको थियो । सरकारले विज्ञहरुसँग परामर्श नगरी हचुवाको भरमा लकडाउन अन्तको घोषणा गरेको भन्दै आलोचना समेत भएको थियो ।

सरकारले लकडाउन अन्तको घोषणा गरे पनि कतिपय क्षेत्रमा लागू गरिएको प्रतिबन्ध भने यथावत राखिएको थियो । यो बीचमा दैनिकजसो संक्रमणको दर तथा संक्रमितहरुको पहिचान हुने क्रम बढेपछि सरकार पुनः काठमाण्डौमा समेत लकडाउन लगाउने योजनामा पुगेको स्रोतहरुको दाबी छ । तथापि, प्रम ओलीले यसबारे अन्तिम निर्णय विज्ञहरुसँगको परामर्शपछि मात्र लिनेछन् । 

कतिपय विज्ञहरुले भने काठमाण्डौ भित्रिने नाकामा कडाई गर्नुपर्ने, काठमाण्डौ प्रवेश गर्नेहरुलाई अनिवार्य १४ दिनको क्वारेन्टिनमा राख्ने व्यवस्था हुनुपर्ने र मानिसहरुको गतिविधिमा केही कडाई गरे मात्र पुग्ने बताइरहेका छन् । पहिलाजस्तो लकडाउन आवश्यक नरहेको र अब कोरोनासँगै बाँच्न अभ्यस्त हुनुपर्ने सुझावहरु समेत आइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

त्यसो त पूर्ण लकडाउनको निर्णयमा एकैपटक जान नहुने भन्दै स्वास्थ्य मन्त्रालयले काठमाण्डौ लगायतका क्षेत्रमा यातायातका साधनमा जोरविजोर प्रणाली लागू गर्नुपर्ने, उपत्यका प्रवेश नाकामा कडाई गरिनुपर्ने प्रस्ताव कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीमा पेश गरिसकेको छ । यी विषयलाई समेत आधार मानी यो साताभित्रै सरकारले उपयुक्त निर्णय लिने बताइएको छ । 

हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार नजिक पुगिसकेको छ । तर, कुल संक्रमितमध्ये निको हुनेहरु ७२ प्रतिशतभन्दा धेरै छन् । मृत्यु हुनेको संख्या ५८ पुगेको छ । 

पछिल्लो समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत समूहमा बस्नेहरुमा संक्रमण देखिइरहेको छ । 

वीरगञ्ज, विराटनगर, जनकपुर लगायतका क्षेत्रहरुमा संक्रमण भूसको आगो झै फैलिइरहेको छ । संक्रमण बढेकै कारण स्थानीय सरकारहरुले समेत आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिरहेका छन् । 

काठमाण्डौ उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढे पनि यहाँ समुदाय स्तरमै संक्रमण बिस्तार भएको कुनै प्रमाण भेटिएको छैन । बरु काठमाण्डौ भित्रिनेहरुलाई नाकामा गरिएको परीक्षणमा कोरोना फेला परिरहेको छ । 

सरकारले लकडाउनको अन्तको घोषणापछि काठमाण्डौ प्रवेश गर्ने सीमानाकाहरुमा कडाई गर्न नसक्दा तराई तथा भारतबाट ठूलो संख्यामा संक्रमितहरु प्रवेश गरेका अनुमान गरिएको छ । ती व्यक्तिहरुको पहिचान तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको पहिचान गर्न कठीन भएकोले समेत काठमाण्डौमा संक्रमण फैलिएर भयावह बन्ने चिन्ता व्यक्त हुन थालेको हो ।