काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ चलिरहेको छ । अनलाइन प्रणाली कार्यान्वयनको पूर्वसन्ध्यामा जारी  मोक ट्रेडिङले अझै लय समात्न सकेको छैन । भद्रगोल अवस्थाका बीच अपेक्षाभन्दा निकै कम लगानीकर्ताले मात्र मोक ट्रेडिङमा सहभागिता जनाइरहेका छन् । मोकमा देखिएको भद्रगोलको व्यवस्थापन नभइरहेको बेला नेपाल स्टक एक्सचेञ्जले भने अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयनका लागि तयार रहन ब्रोकरहरुलाई निर्देशन दिएको छ । 

सोमबार नेप्सेमा स्टक ब्रोकर अशोसिएसनका अधिकारी र नेप्सेका उच्चपदस्थ अधिकारीबीच अनलाइन कारोबार प्रणाली कार्यान्वयनको बिषयमा छलफल भएको थियो । सो क्रममा नेप्सेका अधिकारीहरुले नोभेम्बर १(कात्तिक १५)देखि अनलाइन कारोबार प्रणाली कार्यान्वयनका लागि तयार रहन निर्देशन दिएका हुन्।

‘नेप्सेले हामीलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयनका लागि नोभेम्बर १ देखि तयार रहन भनेको छ ।’ छलफलमा सहभागी एक ब्रोकरले बिजशालासँग भने–‘हामीले मोक ट्रेडिङ नै व्यवस्थित नभइरहेको अवस्थामा पूर्ण अनलाइनको कार्यान्वयन सहज छैन भनेका छौं ।’

ब्रोकरहरुले मोक ट्रेडिङ अझै व्यवस्थित हुनुपर्ने, लगानीकर्ताहरुले मोक नै चलाउन नजानिरहेको अवस्थामा हतारोमा अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउँदा त्यसले समस्या हुने बताए पनि नेप्सेका अधिकारी भने नोभेम्बर १ बाटै अनलाइनको सुरुवात गर्ने बिषयमा दृढ देखिएका ती ब्रोकरले बताए । 

नेप्सेका अधिकारीहरुले दशैंअघि यूजर एसेप्टेन्स टेस्ट(यूएटी)को काम सकिने दाबी गरेका थिए । यूएटी नै सकिएपछि दशैं लगत्तै अनलाइन कारोबार प्रणालीमा जान सकिने भएको भन्दै अब यसमा ढिला गर्न नहुने नेप्सेका अधिकारीहरुले बताएका हुन् ।