काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि आगामी कात्तिक ९ गतेदेखि  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

कात्तिक ९ गतेदेखि इच्छुक लगानीकर्ताले एसी पे चेकमार्फत अरुण काबेलीको आइपीओका लागि आवेदन दिन सक्नेछन् । 

अरुण काबेलीले १ सय रुपैयाँ अंकित मूल्यको आइपीओ छिटोमा कात्तिक १२ गतेभित्र र त्यसबेलासम्म पनि माग अनुसारको आवेदन नपरे ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 

लगानीकर्ताले प्रतिकित्ता  न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । इक्रा नेपालले अरुण काबेलीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था सन्तोषजनक नरहेको भन्ने हो । 

आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने बताइएको छ । 

सिद्धार्थ क्यापिटलका अनुसार कुल निश्कासनहुनेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट १६ करोड रुपैयाँका दरले चार अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

आर्थिक बर्ष २०७३/७४ मा यो परियोजना सक्ने लक्षका साथ नेपाल बिद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरिएको छ । 

आइपिओ बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा त्यसपछि संस्थापक समूहको ७०, आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । 

कम्पनीका एक अधिकारीका अनुसार आयोजना निर्माणकै क्रममा रहेको हुँदा प्रतिफलका लागि भने लगानीकर्ताले केही समय कुर्नु पर्ने हुन्छ ।

कहाँ–कहाँबाट दिने आवेदन ?
अरुण काबेलीको आइपीओका लागि सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ बैंकका सबै शाखाबाट आवेदन भर्न सकिन्छ । 

१) सिद्धार्थ क्यापिटल लिमीटेड, सम्पर्क व्यक्ति-सविन बुढाथोकी, सम्पर्क : ०१-४२२६७९३

२) अरुण काबेली पावर लिमीटेड, टेड टावर नेपाल, थापाथली काठमाण्डौ । सम्पर्क व्यक्ति-सिर्जना खड्का, सम्पर्क फोन : ०१-५१११०८५

३) सिद्धार्थ बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति-विञ्जल श्रेष्ठ । सम्पर्क फोन : ०१-४४४२९१९, ४४४२९२०